हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । जसमध्ये, सरकारी नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र राखेर बैँकबाट सहुलियत ऋण लिन पाइने व्यवस्था गर्ने उल्लेख गरेपछि यस विषयले निकै चर्चा पायो । त्यस्तै, एनसेल कर प्रकरण तथा मेरो माइक्रोफाइनान्सको शेयर बाँडबाँडको विषयले पनि साताभर चर्चा बटुल्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
सरकारी नीति तथा कार्यक्रम
यो साता नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्यो । सरकारले भूकम्पपीडितहरुलाई सबै बैंक तथा वित्तीय संस्थाबाट अनुदान उपलब्ध गराउने घोषणा गर्यो । त्यस्तै, नीति तथा कार्यक्रममा समावेश गरिएको शैक्षिक प्रमाणपत्र राखेर बैँकबाट सहुलियत ऋण पाइने घोषणाले विद्यार्थीहरुमा उत्साह छायो भने बैँकहरुले यसमा कति पनि सम्भाव्यता देखेनन् । विहिबार भुकम्पपछिको पुनर्निर्माणका लागि झण्डै साढे ८ खर्ब बजेटको पञ्चवर्षिय योजना सार्वजनिक भयो । त्यसैगरी, नेपाल बैंकर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा भूकम्पपीडितको नाममा स्वतः बैंक खाता संचालन गरिने घोषणा पनि यसै साता गरियो ।
एनसेल कर प्रकरण
चौतर्फी दबाबपछि दूरसञ्चार सेवा प्रदायक एनसेलले अग्रिम कर भुक्तानी (टीडीएस)बापतको ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार पाँच सय रुपैयाँ आइतबार सरकारलाई बुझायो । गत साता एनसेललाई कर उन्मुक्ति दिने विषयमा लेखा समितीमा ठूलै बहस भयो । एनसेलले कर नतिरेको विषयमा लामो समयदेखि चर्चा चल्दै आएकोमा आजसम्म लेखा समिती मौन थियो । एनसेललाई कर नतिराउन चलखेल भइरहेको भन्ने टिप्पणीहरु बढ्दै जान थालेपछि अन्ततः लेखा समितीले पनि यसतर्फ छलफल बढाएपछि एनसेलले कर तिर्यो ।
शेयर निष्काशन तथा वितरण
शेयर निष्काशन गरेको झण्डै सात महिनापछि जलविद्युत् लगानी तथा विकास कम्पनीले वैशाख २७ बाट साधारण शेयरको प्रमाणपत्र वितरण सुरु गर्यो । मेरो माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण शेयर बुधबार बाँडफाँड भयो ।
मर्जर तथा एक्विजिसन
नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) सँग गाभिन लागेका कुमारी बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकको सेयर आदनप्रदान अनुपात यसै साता तय भयो ।
शाखा तथा सेवा विस्तार
यू. के. एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा जनता बैक नेपाल लिमिटेडले दार्चुला जिल्लाको ४ वटा गाविसहरुमा शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गर्यो । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ५० औँ शाखा डडेलधुराको अमरगडिमा शुभारम्भ गर्यो । यसै साता एभरेष्ट बैंक लिमिटेडले संयुक्त राज्य अमेरिकाबाट जुम कर्पोरेसनमार्फत डिजिटल मनी ट्रान्सफर (रेमिट्यान्स) सेवा सुरु गर्यो ।
सम्झौता
गत विहिबार प्रभु मनि ट्रान्स्फर प्रा.लि र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था बिच रेमिटेन्स सम्झौता भयो । विहिबारै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबिच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर भयो । प्रभु मनि ट्रान्स्फर प्रा.लि र प्रोग्रेशिभ फाइनान्स लि.बिच रेमिटेन्स सम्झौता पनि यसै साता भयो । प्रभु मनि ट्रान्स्फर प्रा.लि र नेपाल सेवा लघुवित्त वित्तिय सस्था लि. बिच पनि रेमिटेन्स सम्झौता सम्पन्न भयो ।
अन्तर्राष्ट्रिय सम्मेलन
विहिबारदेखि राजधानीमा सार्कका विमा नियामकहरुको भेला सुरु भएको छ । जसले नेपालका विमा कमपनिहरुको पुँजी वृद्धिमा दबाब दिन सक्ने अनुमान गरिएको छ ।
बैँकिङ तालिम
बैँकिङ क्षेत्रको मजबुतीका लागि प्रविष्टि परामर्श तथा सेवा प्रा.लिले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई विदेशी मुद्रा विनिमय तथा व्यवस्थापन सम्बन्धि एकदिने तालिम प्रदान गर्यो ।
अन्य
क्रेडिट रेटिङ एजेन्सी इक्राले नबिल इन्भेष्टमेन्टलाई एएमसी क्वालिटी थ्रि प्लस रेटिङ प्रदान गर्यो ।