Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ एक्स्पोको आवश्यकता र महत्व

२०७४ चैत्र ६ गते

रुपा कोइराला । बैंकिङ पहुँच विस्तारमा सरकारलाई सहयोग गर्ने उद्देश्यले मिडिया इन्टरनेशनलले सुरु गरेको 'वित्तीय जागरण : राष्ट्रिय अभियान' अन्तर्गत मुलुकका विभिन्न स्थानहरुमा बैंकिङ एक्स्पो कार्यक्रम संचालन गरिँदै आइएको छ । नेपालमा वित्तीय पहुँच विस्तारका साथसाथै वित्तीय साक्षरताको पनि आवश्यकता महशूस गरिएको छ । अझै पनि नेपालको अधिकांश जनसंख्या बैंकप्रति नकारात्मक भावना लिएर बसेको छ । बैंकहरु सर्वसाधारणको सेवाकै लागि हुन् भन्ने ज्ञान नभएका जनसंख्याको ठूलो जमात नेपालमा छ । अशिक्षित वर्ग मात्र नभएर व्यवस्थापन संकाय नै अध्ययन गरिरहेका विद्यार्थी तथा युवा वर्गमा समेत वित्तीय चेतनामा कमी रहेको पाइएको छ । मुलुकको यस्तै अवस्थालाई ध्यानमा राखेर मिडिया इन्टरनेशनलले मुलुकका विभिन्न स्थानहरुमा बैंकिङ एक्स्पो संचालन गरेर बैंक वित्त सम्बन्धी चेतना अभिवृद्धि गर्ने काम गरिरहेको छ । 

युवाहरुलाई उद्यमशीलतामा लाग्न प्रेरित गर्ने, मुलुकका सबै आर्थिक कारोबार औपचारिक क्षेत्रमा ल्याउन टेवा पुर्याउने, विपन्न वर्गलाई जीवनस्तर उकास्ने योजना प्रदान गर्ने लगायतका उद्देश्यले आयोजना गर्दै आइएको यो कार्यक्रम लक्षित वर्गका लागि अति नै उपयोगी हुने देखिन्छ ।

बैंक वित्तबारे अत्यावश्यक जानकारी
बैंकिङ एक्स्पोमा बैंक वित्तसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाहरु आफैँले स्टल राखेर जानकारी प्रदान गर्ने हुँदा अवलोकनकर्ताहरुले बैंक वित्तबारे अत्यावश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । कुन बैंकले कति कर्जा दिइरहेको छ ? विदेशबाट रेमिट्यान्स कसरी पठाउने तथा प्राप्त गर्ने ? बीमा कसरी गर्ने र किन गर्ने ? कुन कम्पनीको बीमा योजना केकस्तो छ ? मर्चेन्ट बैंकहरुले केके काम गर्छन् ? युवा स्वरोजगार कोषबाट कर्जा लिएर कसरी उद्यमी बन्ने ? लगायतका थुप्रै अत्यावश्यकीय ज्ञान एउटै स्थानबाट लिन सकिने भएकाले बैंकिङ एक्स्पो अवलोकन गर्नु हरेकका लागि फलदायी हुनेछ । 

वित्तीय चेतना अभिवृद्धि
कुनै कम्पनी तथा संस्थाका विषयमा मात्र नभएर समग्र बैंकिङ क्षेत्र, बीमा क्षेत्र, रेमिट्यान्स, सेयर बजार लगायतका विषयमा चेतना अभिवृद्धि गर्ने थलो हो, बैंकिङ एक्स्पो । ४० प्रतिशत नागरिकमा मात्रै बैंकिङ पहुँच पुगेको र १८ प्रतिशत जनता मात्रै वित्तीय रुपमा साक्षर रहेको विद्यमान अवस्थामा वित्तीय चेतनाको अभिवृद्धि एकदमै आवश्यक छ । बीमाको पहुँच त झन् दयनीय अवस्थामा नै रहेको छ । एक तथ्यांकले आठ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा रहेको देखाएको छ । त्यसैले नेपालमा वित्तीय साक्षरता भनेजस्तै बीमा साक्षरताको पनि आवश्यकता रहेको छ । जुन आवश्यकता बैंकिङ एक्स्पोले धेरै हदसम्म पुरा गर्नेछ । यहाँ बैंक वित्त क्षेत्रका बारेमा सबै जिज्ञासा मेटाउन सकिन्छ । बैंक बीमाहरुले गर्ने काम के हो ? यसबाट कसरी फाइदा लिने भन्ने कुराको जानकारी बैंकिङ एक्स्पोमा पाइनेछ । नेपाल राष्ट्र बैंकले केकस्ता सेवा दिन्छ ? धितोपत्र बोर्डले केके काम गर्छ ? युवा स्वरोजगार कोषबाट विनाधितो कर्जा कसरी पाउने ? बैंकले के आधारमा कर्जा दिन्छ ? कुन बैंकमा पैसा राख्दा कति व्याज आउँछ ? कस्तो प्रकारको बैंकले दिने सेवा सुविधा कस्तो हो ? लगायत थुप्रै अत्यावश्यकीय जानकारीहरु बैंकिङ एक्स्पोमा प्राप्त गर्न सकिनेछ । यसले मानिसहरुमा वित्तीय चेतना बढाउनेछ ।

उद्यमी बन्ने आइडिया 
नेपालमा मेनेजमेन्ट अध्ययन गरेका थुप्रै युवाहरु बेरोजगार बसिरहेका छन् । उनीहरु नेपालमा केही गर्न नसकिने भन्दै विदेशीने सोच बनाइरहेका छन् । यस्ता युवालाई नेपालमै पनि उद्यम गरेर राम्रो व्यवसायी बन्ने वातावरण छ भन्ने विश्वास बैंकिङ एक्स्पोले दिलाउनेछ । मेनेजमेन्ट पढेर आफैँ उद्यम सुरु गर्ने सोचिरहेका युवाहरुका लागि पनि उद्यम सुरु गर्ने, लागत जुटाउने, व्यवसाय बढाउने लगायतका आइडियाहरु बैंकिङ एक्स्पोले प्रदान गर्नेछ । बैंक, लघुवित्त वा युवा स्वरोजगार कोषले दिने कर्जाको सदुपयोग गरेर व्यवसायी कसरी बन्ने भन्ने कुरा बैंकिङ एक्स्पोमा सिक्न सकिन्छ । आफ्नो समृद्धिका लागि सरकारको मुख नताकी आफ्नै स्तरबाट केही गर्ने उत्प्रेरणा बैंकिङ  एक्स्पोले प्रदान गर्नेछ ।

बैंकिङ करिअर निर्माण
स्वरोजगार बन्नका लागि मात्र नभएर बैंकिङ क्षेत्रमा जागीर खाने सोच बनाएकाहरुलाई पनि बैंकिङ एक्स्पोले मद्दत पुर्याउनेछ । अहिले मेनेजमेन्ट नै अध्ययन गरिरहेका विद्यार्थीहरुमा पनि वित्तीय चेतनाको कमी पाइएको छ । यसकारण, उनीहरुले धेरै कोसिस गर्दा पनि बैंकमा जागीरेको रुपमा प्रवेश गर्न सकेका छैनन् । बैंकिङ एक्स्पोले उक्त तथ्यलाई मध्यनजर गर्दै बैंकमा जागीर गर्नका लागि जान्नैपर्ने अत्यावश्यकीय बैंकिङ नलेज प्रदान गर्नेछ । 

औपचारिक अर्थतन्त्र निर्माणमा योगदान
बैंकिङ एक्स्पोले औपचारिक अर्थतन्त्र निर्माणमा समेत सहयोग पुर्याउने छ । बैंक वित्तबारे जानकारी लिएका युवा तथा जनसमुदायहरु अब पैसा सिरानीमुनि नराखेर बैंकमा बचत गर्नेछन् । रेमिट्यान्सको महत्व बुझेर हुण्डीबाट पैसा पठाउन बन्द गर्नेछन् । भविष्यको सुरक्षालाई ध्यानमा राखेर बीमा गर्नेछन् । कुनै उद्यम सुरु गर्न साहुसँग नभई बैंकसँग कर्जा लिनेछन् । यी सबै परिवर्तनहरु बैंकिङ एक्स्पोले ल्याउनेछ, जसले अनौपचारिक अर्थतन्त्रलाई निरुत्साहित गरी औपचारिक अर्थतन्त्र निर्माणमा ठूलो योगदान पुर्याउनेछ ।