अजवी पौड्याल । पढाइ सकाएपछि राम्रो र सुरक्षित जागिर पाइयोस् भन्ने धेरैको अपेक्षा हुन्छ। तर, उच्च शिक्षा अध्ययनपछि धेरै युवा बेरोजगार हुनुपर्दा निराश हुन्छन्। त्यसैले हाल करियर लक्षित विषयमा विद्यार्थी आकर्षित भएका छन्। नेपालमा सीए अर्थात् चार्टर्ड एकाउन्टेन्ट यस्तै एउटा करियर लक्षित विषय बनेको छ, जहाँ विद्यार्थीको आकर्षण बढ्दो छ।
चार्टर्ड एकाउन्टेन्ट बनेपछि राम्रो आम्दानी हुन्छ भन्ने सुनेका थिए, ऋषि पोखरेलले। साइन्स लिएर प्लस टु गरेपछि उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा भर्ना भए। अहिले उनी चार्टर्ड एकाउन्टेन्सी कोर्सको तेस्रो तहमा अध्ययनरत छन्।
ऋषिको अनुभवमा सीएको पढाइ फलामको च्युरा चपाउनुसरह छ। जति गाह्रो भए पनि सुरक्षित पेसा र राम्रो आम्दानी हुनेमा भने ढुक्क छन् उनी। पोखरेलकै जस्तो सपना छ, इलामकी रोशना बस्नेतको पनि। उनले सीए पढाइमा तीन वर्ष बिताइसकेकी छन्। क्याप २ पास गर्न उनलाई अलि कठिन भयो । भन्छिन्, ‘हिम्मत हारेकी छैन, जसरी पनि सीए बन्नेछु।’
पोखरेल र बस्नेत उदाहरण मात्र हुन्। सीए बन्ने सपना देख्नेहरू धेरै छन् नेपालमा। हाल करिब १४ हजार विद्यार्थी आइक्यानमा नाम दर्ता गराई सीए अध्ययन गरिरहेका छन्। क्याप १, २, ३ र अभ्यास अवधिसहित जोड्दा सीएको कोर्स करिब पाँच वर्षको हुन्छ।
आइक्यानले के गर्छ ?
सीए पढ्न चाहने विद्यार्थी सबैभन्दा पहिला आइक्यानमा भर्ना हुनुपर्छ। ‘द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल’ नामक यो संस्थालाई नै छोटकरीमा आइक्यान भनिन्छ। आइक्यान ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३’ नामको विशेष ऐनद्वारा स्थापित नियमनकारी निकाय हो। लेखासम्बन्धी पेसा तथा शिक्षालाई नियमन गर्न यो संस्था स्थापना गरिएको हो।
सीए पढ्न चाहनेले आइक्यानमा भर्ना हुनुपर्छ । उसले तोकेको ‘कोर्स’ अनुसार अध्ययन गरेर उसले लिने परीक्षा पास हुनुपर्छ। सीए पढ्ने अलग क्याम्पस वा कलेज छैन। तर, विभिन्न कोचिङ सेन्टर तथा इन्स्टिच्युटहरूले यो विषयमा अध्यापन गराउँछन्। आइक्यान नियमनकारी निकाय मात्र भएकोले यसको आफ्नै विश्वविद्यालय वा क्याम्पस छैन।
सन् १९९९ मा चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो एक मात्र विद्यार्थी भर्ना लिएको यो संस्थाले। पहिलो चार्टर्ड एकाउन्टेन्ट सन् २००२ मा उत्पादन गरेको थियो। सीए बन्ने भाग्यमानी थिए, भवनाथ दाहाल।
अहिले नेपालमा करिब एक हजार दुई सय २८ सीए कार्यरत रहेको बताइन्छ। त्यसमध्ये चार सय सीए आइक्यानले उत्पादन गरेको हो। चार्टर्ड एकाउन्टेन्सीसम्बन्धी विभिन्न अन्तर्रा्ष्ट्रिय संस्थाहरूसँग सहकार्य गरिरहेको आइक्यानले गुणस्तरीय चार्टर्ड एकाउन्टेन्सी शिक्षा र विश्वसनीय सेवाको प्रतिबद्धता सार्वजनिक गरेको छ।
नेपालीहरू सीए पढ्न भारतसम्म पुगेका पनि छन्। भारतको बोर्डबाट सीए पास गरेर आउनेहरूले पनि नेपालको आइक्यानमा दर्ता भएर क्याप ३ कोर्सको दुईवटा विषयको परीक्षा पास गर्नुपर्छ। त्यसपछि मात्र सीए लेख्न र व्यवसाय गर्न पाइन्छ।
लोभलाग्दो पेसा
सन् २००७ मा भारतबाट सीए कोर्स पास गरेका रमेश धिताल चार्टर्ड एकाउन्टेन्ट हुन्। केही समय भारतमै चार्टर्ड एकाउन्टेन्टको काम गरेर उनी नेपाल फर्किए। अहिले उनलाई भ्याइनभ्याइ छ। आम्दानी पनि चित्तबुझ्दो भएको बताउँछन् उनी।
सजक र मेहनतीले यो क्षेत्रमा सफलता पाउन सक्ने बताउँछन् धिताल। यो पेसामा नाम, दाम र सामाजिक प्रतिष्ठा उच्च हुने अनुभव गरेका छन् उनले। भन्छन्, ‘सीए भएपछि लगनशील भएर काम गर्नुपर्छ। यसमा पब्लिक रिलेसनको ठूलो भूमिका हुन्छ।’
अर्का सीए सुदीप पौडेल पनि आफ्नो काममा सन्तुष्ट देखिन्छन्। सन् २०१६ मा सीए पास गरेका उनी अहिले ‘सिद्धार्थ क्यापिटल बिजनेस’मा सपोर्टिभ हेडको रूपमा कार्यरत छन् उनी। ‘सीए अरूभन्दा फरक व्यावसायिक पेसा हो,’ उनी अनुभव सुनाउँछन्, ‘यो पेसामा इज्जत र कमाइ दुवै राम्रो छ।’
‘हिमालयन बैंक’मा कार्यरत झापाकी रीमा खनाललाई सीए भएपछि भविष्यको खासै चिन्ता छैन। महिलाका लागि त यो पेसा झनै उपयुक्त र आर्थिक रूपमा पनि लाभदायी देख्छिन्। भन्छिन्, ‘पहिलेका वर्षहरूमा सीए पास हुने पुरुषको संख्या बढी देखिन्छ। पछिल्लो समय पुरुष बराबर नै सीएमा महिलाहरू पनि ‘क्वालिफाइड’ भइरहेका छन्।’ बजारमा सीएको माग बढ्दो देख्छन्, सीए भइसकेकाहरू। बैंकिङ क्षेत्र, निजी क्षेत्र, सरकारी अफिसहरूमा समेत माग बढेको बताउँछन् उनीहरू।
सीएको आम्दानी
सीएमा प्रायः आर्थिक हिसाबकिताब राखिन्छ। आफ्नै फर्म खोलेर स्वतन्त्र व्यवसाय गरिरहेका सीए धितालका अनुसार सीएको मासिक कमाइ डेढ लाख रुपैयाँभन्दा बढी हुन्छ। भन्छन्– ‘सिनियर सीएहरू महिनामै २० लाख रुपैयाँसम्म आम्दानी गर्छन्।’
सीए पास गरेर धितालको अफिसमा काम गर्न आएकाहरूले सुरुमै ३० हजारदेखि दुई लाख रुपैयाँसम्म तलब बुझ्ने गर्छन्। उनको कम्पनीले खासगरी बैंकहरूको ‘अडिट’ गरिन्छ। समाजमा सीएको छुट्टै खालको क्रेज रहेको अनुभूति रीमाको पनि छ। भन्छिन्, ‘जागिर नै खाए पनि एउटा सीएले अधिकृत तहको जागिर पाउँछ। तलब राम्रो हुन्छ।’ स्वतन्त्र व्यवसाय अथवा फर्महरूमा काम गर्न सक्ने भएकोले सीएका लागि रोजगारीको ग्यारेन्टीजस्तै हुने बताउँछिन् उनी।
नेपालमै पढाइ
आइक्यानले डिजाइन गरेको सीए कोर्स अन्तर्रा्ष्ट्रिय स्तरको मानिन्छ। यस क्षेत्रको अध्ययनमा आइक्यान नै प्रमुख हो भन्ने मान्यता राखिन्छ। स्वायत्त निकाय भएकोले आइक्यानले नै यो क्षेत्रको शिक्षा र पेसालाई नियमन गर्दै आएको छ।
नेपालमा सीएको अध्यापन उच्च गुणस्तरको हुने धितालको बुझाइ छ। भन्छन्, ‘सीएका लागि छुट्टै कलेज वा विश्वविद्यालय संसारभर नै छैन। हरेक देशमा एउटा बोर्ड स्थापना भएको हुन्छ। त्यही बोर्डको मातहत रहेर खुलेका कोचिङ सेन्टरले पढाउँछन्।’
नेपालमा सीएको कोर्स पढाउने कोचिङ सेन्टर लगभग २० वटा छन्। काठमाडौं, पोखरा र विराटनगरमा त्यस्ता सेन्टरहरू खोलिएका छन्। सीए पौडेल कोचिङ सेन्टर नगएरै पनि सीए पढ्न सकिने बताउँछन्। भन्छन्, ‘आइक्यानमा आफ्नो नाम दर्ता गरेर घरमै बसेर पढ्न पनि सकिन्छ। यसरी पढ्दा करिब पाँच वर्षमा दुई लाख रुपैयाँ जति खर्चमा पढाइ पूरा गर्न सकिन्छ।’
त्यसैगरी कोचिङ सेन्टरकै कक्षा धाउनेहरूको चाहिँ पाँचदेखि सात लाखको हाराहारीमा खर्च हुन्छ। कोचिङ सेन्टर अनुसार ‘फि’ फरक हुन सक्छ। कोचिङ सेन्टरहरूले एउटा क्यापको कोचिङ फि ४० हजार देखि ९० हजारसम्म लिन्छन् । अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार




