Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

११औँ आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा आवेदन आह्वान

२०८३ श्रावण १ गते

बैंकिङ खबर/ सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) खुला गरिएको छ। आयोजक लिभिङ विथ आइसिटीले बिहीबारदेखि १६ वटा विभिन्न विधामा आवेदन आह्वान गरेको हो। यस वर्ष राष्ट्रिय विधासँगै दक्षिण एसियाली देशहरूलाई लक्षित दुई अन्तर्राष्ट्रिय अवार्ड पनि समावेश गरिएको छ।

सन् २०१६ देखि सञ्चालन हुँदै आएको आइसिटी अवार्डको नोमिनेसन हरेक वर्ष साउन १ गतेदेखि खुला गर्ने परम्परा रहेको छ। यस वर्ष पनि पहिलो चरणको आवेदन भदौ १५ गतेसम्म खुला रहने आयोजकले जनाएको छ। इच्छुक व्यक्ति, संस्था तथा कम्पनीहरूले www.ictaward.org मार्फत निःशुल्क आवेदन दिन सक्नेछन्।आयोजकका अनुसार यस वर्ष कुल १६ विधा समेटिएका छन्। तीमध्ये स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसल इन्नोभेसन आइसिटी अवार्ड प्रतिस्पर्धात्मक विधा हुन्। त्यसैगरी, सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई पायोनियर आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड (वुमन), आन्टरप्रेनर आइसिटी अवार्ड तथा नेपाली डायस्पोरा आइसिटी अवार्ड प्रदान गरिनेछ।

यस्तै, सरकारी तथा निजी संस्थाको डिजिटल रूपान्तरण र प्रविधिमैत्री सेवालाई प्रोत्साहन गर्न डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल एजुकेसन आइसिटी अवार्ड (सार्वजनिक क्षेत्र), डिजिटल एजुकेसन आइसिटी अवार्ड (निजी क्षेत्र), डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज सेक्टर) तथा डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इमर्जिङ सेक्टर) विधा समावेश गरिएको छ।यस वर्ष पनि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सञ्चालन गरिनेछ भने पहिलो पटक साउथ एसिया एआई इन्नोभेसन आइसिटी अवार्ड थपिएको छ। यी दुई अन्तर्राष्ट्रिय विधामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीहरूले आवेदन दिन सक्नेछन्।आयोजक समितिका अध्यक्ष राजन लम्सालका अनुसार नोमिनेसनपछि करिब छ महिनासम्म विभिन्न मूल्यांकन प्रक्रिया, टेलिभिजन कार्यक्रम, स्टार्टअप फेस्ट, मेन्टरिङ तथा अन्य प्रि–इभेन्ट सञ्चालन गरिनेछ। सबै विधाका उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २० भन्दा बढी विज्ञ सम्मिलित जुरी प्यानल तथा १५ भन्दा बढी विशिष्ट व्यक्तित्वको सल्लाहकार समिति गठन गरिनेछ।

आइसिटी अवार्डको ग्रान्ड फिनाले पुसको पहिलो साता आयोजना हुनेछ। कार्यक्रममा नेपाल तथा विदेशबाट दुई हजारभन्दा बढी प्रविधि उद्यमी, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा डिजिटल क्षेत्रका सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।आइसिटी अवार्डले विगत एक दशकदेखि नेपालमा सूचना प्रविधि, नवप्रवर्तन, स्टार्टअप, डिजिटल रूपान्तरण तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्दै उत्कृष्ट व्यक्ति, संस्था र परियोजनालाई सम्मान गर्दै आएको छ। साथै, वर्ल्ड समिट अवार्ड (WSA) र एपीक्टा (APICTA) जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मसँगको सहकार्यमार्फत नेपाली प्रविधि तथा नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवर्द्धन गर्दै आएको छ।