बैंकिङ खबर / नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकले केन्द्रीय बैंकको स्वायत्तता कमजोर नपार्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा विधेयकमाथिको छलफलका क्रममा उनले ऐन संशोधनको उद्देश्य राष्ट्र बैंकलाई आधुनिक र समयसापेक्ष बनाउनु रहेको स्पष्ट पारे।
उनका अनुसार विश्वव्यापी अभ्यासअनुसार केन्द्रीय बैंक राजनीतिक प्रभावबाट स्वतन्त्र हुनुपर्छ। तर मूल्य स्थिरता, आर्थिक स्थायित्व, उत्पादन वृद्धि र रोजगारी सिर्जनाजस्ता साझा आर्थिक लक्ष्य हासिल गर्न सरकार र राष्ट्र बैंकबीच प्रभावकारी समन्वय अपरिहार्य हुन्छ।
अर्थमन्त्रीले राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिव रहने व्यवस्थाले सरकार र केन्द्रीय बैंकबीच नीतिगत समन्वयको सेतुका रूपमा काम गरिरहेको बताए। उनले सरकारले ल्याउने वित्त नीतिलाई मौद्रिक नीतिले परिपूरक रूपमा सहयोग गर्नुपर्ने धारणा पनि राखे।
उनले प्रविधिको तीव्र विकास र डिजिटल मुद्राजस्ता नयाँ अवधारणालाई कानुनी रूपमा सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक भएको उल्लेख गरे। साथै, संशोधनको मुख्य उद्देश्य राष्ट्र बैंकको संरचना, पदाधिकारीको योग्यता तथा संस्थागत व्यवस्थालाई समयअनुकूल बनाउनु रहेको बताए।


