बैंकिङ खबर । वित्तीय सेवा विस्तारमा लघुवित्तको भूमिका महत्वपूर्ण रहेको विज्ञहरुले बताएका छन् । लघुवित्त क्षेत्रको सबलीकरणका लागि मार्गचित्र तय गर्न लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरुको सहभागीतामा काठमाडौंमा आयोजना गरिएको दुई दिने गोष्ठीमा विज्ञहरुले उक्त कुरा बताएका हुन् ।
समापन समारोहका प्रमुख अथिति राष्ट्रिय सभा सदस्य, योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गभर्नर डा. युवराज खतिवडाले लघुवित्त विशुद्ध विपन्न वर्ग र महिला सशक्तिकरणका लागि भएको कारण यसलाई सामाजिक व्यवसायको रुपमा हेरिनुपर्ने बताए । उनले लघुवित्तको सुपरिवेक्षण प्रणाली संघीय संरचना अनुसार प्रादेशिक तथा स्थानीय निकायबाट गर्न आवश्यकता आउन सक्ने बताए । हाल वित्तीय अनुशासनहिनतामा अत्यधिक वृद्धि भएता पनि लघुवित्त अझै पनि अनुशासित रहेको तर्क राख्नुभयो । लघुवित्त वित्तीय संस्थाको अनुमति प्रकृयामा समेत यथाशक्य चाँडो पुनर्विचार गर्नुपर्नेमा जोड दिंदै उनले लघुवित्तकर्मी सबैको क्षमता वद्धि र पुनर्अभिमूखिकरण गर्नुपर्ने बताए ।
समारोहमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले आर्थिक मात्र नभई सामाजिक क्रान्ति ल्याउनमा लघुवित्तको महत्वपूर्ण भूमिका रहको बताए । लघुवित्त संस्थामा देखिएका समस्याहरुलाई नियामक निकाय, नीति नियम भन्दा पनि स्वयं सस्थाको पहलबाट समाधान गर्न सकिने बताए ।
नेपाल लघुवित्त बैंकर्स संघका उपाध्यक्ष प्रकाश राज शर्माले दोहोरोपना, अत्यधिक कर्जा प्रवाहका कारण यस क्षेत्रमा समस्या देखिएको बताए । हाम्रो कमी कमजोरीप्रति आत्मालोचना गर्दै विपन्न र आर्थिक रुपले पिछडिएको बर्गको आर्थिक सामाजिक परिवर्तनका लागि अगाडी बढ्नुपर्नेमा जोड दिए ।
२०७४ फागुन १० देखि ११ गतेसम्म आयोजना गरिएको गोष्ठीमा पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका २२ वटा लघुवित्त संस्थाका ४० जना संचालक समितिका अध्यक्ष तथा संचालक तथा लघुवित्त विज्ञहरुको सहभागीता रहेको थियो ।



