Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘लघुउद्यम विकासमा लघुवित्तको योगदान महत्वपूर्ण’

२०७४ फाल्गुन १० गते

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तारमा लघुवित्त संस्थाहरुले सकृय भूमिका निर्वाह गरेको बताएका छन् । लघुवित्त क्षेत्रको सबलीकरणका लागि मार्गचित्र तय गर्न लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरुको सहभागीतामा काठमाडौंमा आयोजित दुई दिने गोष्ठीको उद्घाटन गर्दै उनले लघुवित्तको माध्यमबाट ग्रामीण अर्थतन्त्रको मुहार फेरिएको र लघुउद्यम विकासमा महत्वपूर्ण योगदान रहेको बताए । बैंकिङ्ग सुविधा नपाएका विपन्न वर्गमा सेवा विस्तार गर्दै आएका लघुवित्त संस्थाका लागि नेपाल राष्ट्र बैंक पथ प्रदर्शकको रुपमा अगाडी बढ्न तयार रहेको डेपुटी गभर्नर श्रेष्ठको भनाई थियो ।

गोष्ठीमा मन्तव्य राख्दै केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको मूल मर्म र उद्देश्य बमोजिम अगाडी बढ्न सहभागी विभिन्न संस्थाका संचालक समितिका सदस्यहरुलाई आग्रह गरे । उनले लघुवित्त क्षेत्रको दीगो विकास र विस्तारका लागि संचालकहरु कृयाशिल रहन र लघुवित्तको आधारभूत सिद्धान्तको अनुशरण गरी विपन्न वर्गको आर्थिक सामाजिक विकासमा योगदान पुग्नेगरी नीति निर्माण गर्न समेत अनुरोगरे । हाल नेपालमा लघुवित्त संस्थाहरुको स्थापना हुने क्रम बढेका कारण पनि यसमा विभिन्न विकृतिहरु देखा पर्न थालेकोले अब लघुवित्त संस्थालाई अनुमति दिन स्थगत गर्नुपर्ने र लघुवित्त संस्थाहरुको नियमनका लागि अब छुट्टै नियमनकारी निकायको आवश्यकता महशुस भएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तका ग्राहक सदस्यको संरक्षण र उनीहरुको आर्थिक सामाजिक विकास साथै उद्यमशीलता विकास गर्दै आयस्तर अभिवृद्धि गर्न संस्थाले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए । उनले लघुवित्त क्षेत्रमा देखापरेका विकृतिहरुलाई उजागर गर्दै सो को समाधानका लागि वित्तीय साक्षरताको आवश्यकता औँल्याए । लघुवित्त संस्थाका संचालक समितिका सदस्यहरुले ग्राहक सदस्यहरुसँग समेत पटक पटक अन्तरक्रिया गर्नुपर्ने उनको जोड थियो । 

स्वावलम्बन विकास केन्द्रको आयोजनामा विहीबार (फागुन १० गते) सुरु भएको गोष्ठी शुक्रबारसम्म संचालन हुने छ । गोष्ठीमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका २२ वटा लघुवित्त संस्थाका ४० जना संचालक समितिका अध्यक्ष तथा संचालक तथा लघुवित्त विज्ञहरुको सहभागीता रहेको छ । गोष्ठीको पहिलो दिन लघुवित्त संस्थाहरुलाई स्वस्थ, सबल र सक्षम बनाउने कार्यमा नीति निर्माण गरी संस्थालाई मार्ग दर्शन गर्न संचालक समितिका सदस्यहरुको भूमिका, लघुवित्त क्षेत्रमा हाल देखापरेका समस्याहको पहिचान र सो को समाधानका लागि उपायहरुको खोजी, लघुवित्त संस्था र ग्राहक संरक्षणमा संचालक समितिका पदाधिकारीहरुको भूमिका, कमी कमजोरीको विश्लेषण साथै सुशासन सम्बन्धमा छलफल भएको बताइएको छ ।