December 31st, 2017

तरलता समस्याले लगानीमा संकुचन : उद्योग परिसंघ

बैंकिङ खबर । नेपाल उद्योग परिसंघले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्यालाई गम्भिरता पूर्वक लिएको जनाउँदै यसले समग्र लगानीमा संकुचन आउने जनाएको छ । परिसंघले शनिबार विज्ञप्ति जारी गर्दै तरलताको संकटले गर्दा वित्तिय प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा नाटकीय ढंगले वृद्धि हुँदा उत्पादन लागत बढेको उल्लेख गरेको छ । 

ब्याज बढ्दा उद्योग र व्यवसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, निर्यात हतोत्साहित हुने, आयात तीव्र गतिले बढ्ने परिसंघले जनाएको छ । घट्दो लगानीले कूल गार्हस्थ उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा शिथिलता आउने तथ्यलाई गंभिरतापूर्वक मनन गरी राष्ट्र बैंकबाट नीतिगत सुधारका लागि परिसंघले आग्रह गरेको छ । 

तरलताको समस्या पटक पटक देखिएको भन्दै संरचनात्मक र नीतिगत तहमै परिवर्तन आवश्यक रहेको परिसंघले औँल्याएको छ ।