बैंकिङ खबर । पुस १४ गतेदेखखि इटहरीमा बैंकिङ एक्स्पो हुने भएको छ । विहीबार एक प्रेस विज्ञप्ति जारी गरी पुस १४, १५ र १६ गते इटहरीमा बैंकिङ एक्स्पो संचालन गर्न लागेको जानकारी दिइयो । नेपालमा दोस्रो पटक हुन लागेको बैंकिङ एक्स्पो काठमाडौँबाहिर भने पहिलो पटक हुन लागेको हो । मिडिया इन्टरनेशनलको आयोजनामा देशभर संचालन भइरहेको ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ अन्तर्गतको पहिलो बैंकिङ एक्स्पो गत बैशाख महिनामा काठमाडौँमा भएको थियो ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको कार्ययोजनालाई सहयोगी हुनेगरी ‘सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत, सबै नेपालीको बैंक खाता’ भन्ने मुल नाराका साथ सुरु भएको ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालबाट समुद्घाटन गरी सुरु भएको राष्टिय स्तरको वित्तीय चेतनाको कार्यक्रम हो । आम नेपालीलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्येश्य स्वरुप नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा देशैभरी कार्यक्रम संचालन गर्नेगरी यो अभियान सुरु भएको हो । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन र माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनको समेत सहकार्यमा अघि बढेको यो कार्यक्रममा नेपाल धितोपत्र बोर्ड र बीमा समितीले समेत साझेदारीका रुपमा सहकार्य गरेका छन् ।
बैंक, बैंकिङ प्रविधि, बीमा, रेमिट्यान्स लगायत सम्पूर्ण वित्तीय कारोबारका बारेमा जानकारी गराउने तथा आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्ने बानीको विकास गराउने उद्देश्यले बैंकिङ एक्स्पो गर्न लागिएको 'वित्तीय जागरण : राष्ट्रिय अभियान'का संयोजक माधव निर्दोषले बताए । कार्यक्रमको उद्देश्यमाथि अझै प्रष्ट पार्दै विज्ञप्तिमा भनिएको छ ः
“मुलतः मुलुकमा अहिले पनि पैसालाई सिरानी मुनी, सन्दुसमा वा कुनै दराजमा राख्ने प्रचलन छ । सुन र चाँदी मानिसले घरमै थन्काएको अवस्था छ । यति धेरै बैंकिङ क्षेत्र विस्तारीत भइसक्दा पनि आधा जनसँख्याको अझै बैंक खाता समेत रहेको देखिँदैन । यसले वित्तीय साक्षरताको आवश्यकतालाई टड्कारो रुपमा प्रष्ट पारेको देखिन्छ । हामीसँग भएको पुँजी परिचालन गर्न नसक्दा विकासका काममा आवश्यक पर्ने पुँजी संचय हुन सक्दैन, घरमा राखेको पैसा सुरक्षित हुन सक्दैन, र घरभित्रको पैसाले अरु पैसा आर्जन गर्न सक्दैन भन्ने कुरा समेत कतिलाई अझै थाहा छैन ।
त्यसका अतिरिक्त आज बैंक तथा वित्तीय संस्थाहरुले जे जति टेक्नोजोलीको प्रयोग गरेका छन् त्यसको भरपुर प्रयोग गर्न प्रयोगकर्ताहरुले नसकेको अवस्था छ । इ बैंकिङ, मोवाइल बैंकिङ तथा विभिन्न कार्ड मार्फतको वित्तीय कारोवार शहरमा पनि प्रशस्त हुन सकेको छैन । यसले के देखाउँछ भने टेक्नोलोजिको विकासलाई हामी पूर्ण रुपमा उपभोग गर्न सकिरहेका छैनौं ।
बैंकिङ सूचनाको अभावमा बैंकिङ क्षेत्रले गर्ने कामका बारेमा समेत कतिपय नेपालीलाई जानकारी छैन । बैंकिङ क्षेत्रबाट हुने लगानीका विधिहरु थाहा नहुँदा वा बैंकिङ क्षेत्रले दिने कर्जा र व्याजका बारे समेत थाहा नहुँदा बैंककै बारेमा मानिसहरु अन्योल छन् । यसअर्थ बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउने र बैंकबाटै कर्जा लिएर उद्यमशिलताको विकास गर्ने यस कार्यक्रमको मुख्य उद्येश्य हो ।
बीमा क्षेत्रको विस्तार हुन नसक्दा भइपरि आउने जोखिमबाट समेत नागरिकहरु पीडीत छन् । स्वास्थ्य बीमा होस् या सम्पत्तिको बीमा, समग्र बीमाका बारे जनचेतना बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यसर्थ बीमाको विकास, विस्तार तथा बीमाको आवश्यकता र महत्वका बारे आम नागरिकलाई जानकारी गराउने तथा बीमा गर्नुका फाइदाहरु जानकारी गराएर बीमा क्षेत्रलाई फराकिलो बनाउने यस कार्यक्रमको अर्को उद्देश्य हो ।
हुण्डी कारोबार जस्ता अनधिकृत कारोबारबाट देशलाई राजश्वमा भएको नोक्सानलाई न्युनीकरण गर्ने र हुण्डी संचालन अवैधानिक भएकाले त्यसबाट पैसा पठाउँदाका हानी नोक्सानीका बारे चेतना अभिवृद्धि गर्नुका साथै आधिकारीक रेमिट्यान्सबाट मात्रै पैसा पठाउने बानीको विकास गराउनु अति आवश्यक छ । देशैभरी वित्तीय जागरण ल्याउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । पैसा कमाउनका लागि बचत गर्ने र उद्यमशिलताका लागि बैंकिङ माध्यम अपनाउने बानीको विकास गर्न सके मात्रै पनि थोरै थोरै पुँजी राष्ट्र निर्माणमा सहभागी हुन सक्छ । सबै नेपालीको बैंकवित्त क्षेत्रमा पहुँच पुर्याउने, विदेशका कुनाकुनाबाट पठाइएका पैसालाई आधिकारीक रेमिट्यान्स मार्फत नेपालमा भित्राउने, बीमा गर्नका लागि जनचेतना अभिवृद्धि गर्ने, बैंकिङ सूचनालाई आम नागरिक समक्ष पुर्याउने जस्ता कार्य अति आवश्यक देखिएको छ । पछिल्लो समय अत्यधिक बिस्तार भएको पुँजीबजारमा लगानीको अवसरका बारे समेत जानकारी दिने यस कार्यक्रमको अर्को उद्देश्य रहेको छ ।
म्यानेजमेन्ट, कृषि र पर्यटन जस्ता उद्यमशिलताको खोजिमा अध्ययन गरीरहेका विद्यार्थीहरुलाई कार्यक्रममा सहभागि गराएर उनीहरुलाई नेपालमै उद्यमी बनाउने पनि यस कार्यक्रमको उद्देश्य रहेको छ । जसका लागि उनीहरुमा वित्तीय साक्षरता तथा वित्तीय जागरण ल्याउनेगरी कार्यक्रम संचालन गरिनुका साथै बैंक खाता नभएकाहरुलाई बैंक खाता खोल्न सहजिकरण गर्ने, बैंकिङ टेक्नोलोजी सम्बन्धि जानकारी नभएकाहरुलाई ‘ई बैंकिङ’ विविध बैंकिङ कार्डहरु, तथा ‘मोवाइल बैंकिङ’ सम्बन्धि सहज ढंगले जानकारी गराउने यस कार्यक्रमको उद्देश्य रहेको छ ।”
तीन दिनसम्म इटहरीको जनता माविको खेलमैदानमा संचालन हुने उक्त कार्यक्रममा विभिन्न बैंक, बित्त तथा बीमा लगायत गरी करिब ४० वटा स्टल रहने बताइएको छ ।