Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभर केके भए बैंकिङ गतिविधि ? हेर्नुहा्स्, १३ बुँदामा

२०७४ मंसिर १५ गते

बैंकिङ खबर । हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

बैंकर्स संघको साधारणसभा
नेपाल बैंकर्स संघको ३१ औं बिहीबार राजधानीको होटल अन्नपूर्णमा वार्षिक साधारणसभा सम्पन्न भयो । साधारणसभाले संघको कार्यसमिति सदस्यमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललाई चयन गरेको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको बैंकर्स संघ सदस्यमा दुई कार्यकाल पुरा भएपछि संघमा एक सदस्यको पद रिक्त थियो । सदस्यमा अर्याल नियुक्त भए पनि रिक्त रहेको उपाध्यक्षका लागि साधारणसभाले कुनै पनि निर्णय गरेको छैनन् । किशोर महर्जनले सिभिल बैंक छाडेसँगै उपाध्यक्ष पद रिक्त छ ।  साधारणसभाले नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणालाई विशेष सम्मान गरेको छ । नेपालको बैंकिङ क्षेत्रमा ६ दशकभन्दा बढी समय विताएको र बैंकिङ क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राणालाई सम्मान गरिएको संघका अध्यक्ष अनिलकेशरी शाहले बताए ।

सार्वजनिक विदामा पनि बैंक खोल्न निर्देशन
मंसीर १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक विदाका दिनमा पनि बैंक खोल्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दियो । निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र १७ गते आइतबार बैंक खोल्न राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । निर्वाचनका क्रममा खटिने कर्मचारीलाई तलव भत्ता वितरण गर्नुपर्ने लगायतको अबस्थालाई ध्यानमा राखि बैंक तथा वित्तीय संस्थालाई कारोबार सुचारु गर्न निर्देशन दिइएको हो ।

विद्युतीय बैंकिङ कारोबारमा सीमा
नेपाल राष्ट्र बैंकले बिहीबार विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धि निर्देशन जारि गर्नुअघि सुझावका लागि बनाएको मस्यौदामा एक पटकमा पाँच हजार र दिनभरीमा १० हजार रुपैयाँसम्म मात्र मोबाइल बैकिङ कारोबार गर्न सकिने प्रस्ताव गर्यो । मासिक ५० हजारसम्म कारोबार गर्न पाइने प्रस्तावित निर्देशनमा उल्लेख छ । इन्टरनेट बैंकिङ, मोबाइल वलेट, बैंकिङ कार्डहरु लगायतमा पनि सीमा तोकिएको छ । राष्ट्र बैंकले सुझावका लागि १५ दिनको समय मागेको छ । आएका सुझाव उपयुक्त लागे राष्ट्र बैंकले प्रस्तावित मस्यौदामा हेरफेर गरेर निर्देशन जारि गर्ने जनाएको छ ।

साइबर क्राइम नियन्त्रण गर्नुपर्ने बैंकर्सको निष्कर्ष
विश्वभरको ‘बैंकिङ’ प्रणाली ‘साइबर क्राइम’ को चपेटामा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा मुलुकमा पहिलोपटक साइबर क्राइम र स्विफ्टलाई सुरक्षित तुल्याउने उपायबारे छलफल गर्न बिहीबार राजधानीमा एक दिवसीय सम्मेलन आयोजना गरियो । बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् । 

बैंकिङ जोखिम न्युनिकरणका लागि सुझाव
नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको जोखिम न्युनिकरणका लागि सुझावसहित निर्देशन जारी गर्यो । केन्द्रीय बैंकले कर्जा, सञ्चालन, तरलता, बजार, ब्याज दर, विदेशी विनिमय र अन्य गरी सात खाले जोखिम पहिचान गरी सो जोखिमहरुको न्युनिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिएको हो । राष्ट्र बैंकले सबै खाले जोखिमको न्युनिकरणका लागि छुट्टाछुट्टै निर्देशन दिएको छ ।

विकट स्थानमा शाखा थप्दै महालक्ष्मी
महालक्ष्मी विकास बैंक लिमिटेडले विहीबारदेखि एकैसाथ चार शाखाहरुबाट कारोबार संचालन गर्यो । बैंकले बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट एकै साथ बैंकिङ कारोबार सञ्चालन गरेको हो । सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा शाखाहरु सञ्चालन गरेर महालक्ष्मी विकास बैंक उक्त स्थानहरुमा शाखा खोल्ने प्रथम राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भएको छ । नयाँ शाखाहरुसहित बैंकको शाखा संख्या ७० पुगेको छ भने एटिएम संख्या ३५ रहेको छ । बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

म्याग्देमा पहिलोपटक पुग्यो बैंक
ज्योति विकास बैंक लिमिटेडले बुधबारदेखि तनहूँ जिल्लाको म्याग्दे गाँउपालिका ४, थर्पू बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्यायो । म्याग्दे गाँउपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकले यो शाखा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको समुद्घाटन म्याग्दे गाँउपालिका प्रमुख माया देवी राना आले तथा ज्योतिविकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।

अन्य,

  • नेपाल बैंक लिमिटेडले रुकुम जिल्लाको रुकुमकोटमा बैंकिङ सेवा आरम्भ गर्यो ।
  • ग्लोबल आइएमई बैंकले सोमबार डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका, २, बडममा आफ्नो ५०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गर्यो ।
  • सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर खाता खोली अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा सुचारु गर्यो ।
  • मुक्तिनाथ विकास बैंक लिमिटेडले अनलाईन आस्वा सेवा सुचारु गर्यो ।
  • पोखरा फाइनान्स लिमिटेडले कास्की, माछापूछ्रे गाऊपालिकाको वडा नं. ४ लाहाचोकमा नयाँ शाखा सञ्चालनमा ल्यायो । 
  • नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड, वुटवलले रानीवगीया र शंकरनगर, रुपन्देहि तथा बुद्धचोक, चितवन एक्सटेन्सन काउन्टरहरुलाई एकै दिन शाखा कार्यालयमा स्तरोन्नती गर्यो ।