Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

म्याग्दे गाँउपालिकामा पहिलो बैंकको रुपमा पुग्यो ‘ज्योति विकास बैंक’ 

२०७४ मंसिर १३ गते

ज्योति विकास बैंक लिमिटेडले बुधबारदेखि तनहूँ जिल्लाको म्याग्दे गाँउपालिका ४, थर्पू बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याएको छ । म्याग्दे गाँउपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकले यो शाखा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको समुद्घाटन म्याग्दे गाँउपालिका प्रमुख माया देवी राना आले तथा ज्योतिविकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । 

पवित्र स्थल देवघाटमा देवघाट शाखा र यस थर्पू शाखा गरी बैंकको तनहूँ जिल्लामा मात्रै २ वटा शाखा कार्यालय भएका छन् । गत २ हप्ताभित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामीण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर, काठमाडौंको नेपालटार र कैलालीको धनगढीमा नँया शाखा संचालनमा ल्याएको थियो । 

शाखा उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका सभापति एवम् बैंक संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले मुनाफालाई मात्र नहेरी ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको जानकारी दिए । साथमा आफ्नो सेवा क्षेत्रलाई ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा विस्तार गर्दै लैजाने उनले बताए ।

उक्त कार्यक्रममा म्याग्दे गाँउपालिका उप–प्रमुख बालकृष्ण घिमिरे, म्याग्दे गाँउपालिकावडा नं. ४का अध्यक्ष प्रेम बहादुर थापा, उद्योग वाणिज्य महासंघ थर्पू बजार इकाई समितिका अध्यक्ष खमबहादुर नेपाली एवं सचिव चित्रबहादुर शाही, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवर, म्याग्दे गाँउपालिका एवम् ४ नम्बर वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रिय स्तरको विकास बैंकको रुपमा संचालनमा आएको ज्योति विकास बैंकलले आफ्ना ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आस्वा लगायतका सम्पुर्ण आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गर्ने गरेको छ । 

हालसम्म ज्योति विकास बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्व ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्तापूँजी दुई अर्व ३७ करोड रुपैयाँ पुगेको छ । गत आ.व. को नाफाबाट बोनस सेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्तापुँजी पुर्याउने बैंकको योजना छ ।