बैंकिङ खबर । विदेशी सहितको लगानीमा खुलेका केही बैंकहरु विकासका लागि बाधक देखिएका छन् । उनीहरुका कारण बैंकिङ पहुँच बृद्धिमा पनि समस्या देखिएको छ । नेपालमा केही सिमित बैंकहरु विदेशी लगानीमा संचालीत छन् । यहाँ उदाहरणीय एक बैंकलाई अघि सारीएको छ । ति मध्य विदेशी लगानीमा खुलेको बैंक स्टाण्डर्ड चार्टर्ड हो । तर यो बैंकलाई नेपालको कानुन, नीति, नियमनकारी राष्ट्र बैंकको निर्देशन केही पनि पालना गर्नु पर्दैन । गर्नु पर्ने भए किन पालना गराइएन वा गर्न दवाव दिइएन । यो बैंकले गरेका गतिविधि हेर्ने हो भने उसलाई पैसा कमाउन मात्रै नेपाल राखिएको र राष्ट्रिय हित विपरित जे जे गरेपनि हुन्छ भन्ने आधार देखिन्छ । यसरी बैंकहरु बजारमुखी भइहिँदा ग्रामीण विकासमा बाधा पुग्ने गरेको छ ।
अनुत्पादक क्षेत्रमा बढी लगानी
अनुत्पादक क्षेत्रमा मात्रै बढी लगानी खन्याएर नाफा कुम्ल्याएको यो बैंकले उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनको पालना गरेको छैन । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा वाणिज्य बैंकले गर्नुपर्ने लगानी २० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ । धेरै नाफा कमाउनका लागि तत्काल मुनाफा आर्जन हुने घरघडेरी, गाडी तथा ठेकेदार कम्पनीहरुमा मात्रै यो बैंकले लगानी गर्ने गरेको छ । हुन त, प्रायः बैंकहरुले यो नीतिको पालना गर्न सकेका छैनन् । जेठ मसान्तसम्ममा बैंकहरुले उत्पादनमूलक क्षेत्रमा १७।५ प्रतिशत लगानी गरेका छन् । जसमध्ये, स्टान्डर्ड चार्टर्ड बैंकको लगानी यस क्षेत्रमा अत्यन्तै न्युन रहेको छ । स्रोतका अनुसार, यो बैंकको लगानी उत्पादनमूलक क्षेत्रमा आठ प्रतिशत मात्रै छ । गत चैत्र मसान्तसम्मको तथ्यांक अनुसार, यो बैंकले ६९ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लगानीे गरेको छ ।
शाखा विस्तारमा आनाकानी
शाखा विस्तारमा समेत स्टान्डर्ड चार्टर्ड बैंकले आफूखुसी गर्दै आइरहेको छ । २७ वटा वाणिज्य बैंकहरु राष्ट्र बैंकको निर्देशनअनुसार स्थानीय तहमा जान तयार हुन यो बैंकले अस्वीकार गरेको छ । दुर्गम भेगमा बैंक पुर्याएर त्यहाँको ससानो पुँजीलाई पनि बैंकिङ क्षेत्रमा ल्याउने र समग्र मुलुकको आर्थिक विकासमा प्रयोग गर्ने राष्ट्र बैंक तथा नेपाल सरकारको उद्देश्य छ । तर, राष्ट्रिय हित भन्दा पनि पूर्ण रुपमा मुनाफा केन्द्रित यस बैंकले दुर्गम भेगमा शाखा खोल्न आनाकानी गरेको छ । सन् १९८७ मा नेपाल प्रवेश गरेको यस बहुराष्ट्रिय बैंकले हालसम्म नेपालमा १४ वटा शाखा र २३ वटा एटीएम सञ्चालनमा ल्याएको छ । जसमध्ये, सबैजसो शाखाहरु सहरी भेगमा मात्रै छन् ।
कृषिमा लगानी गर्दैन
उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नै नमानेको स्टान्डर्ड चार्टर्डले सोही क्षेत्रअन्तर्गतको कृषिमा त झन् शून्य बराबर लगानी गरेको छ । नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले कृषिमा कुल कर्जाको ५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले यो निर्देशनको पनि पालना गरेको छैन ।
सूचना नदिएर आलोचित
यो बैंकको सबैभन्दा बढी आलोचना सूचना लुकाएका कारण भइरहेको छ । यो बैंकले अन्य बैंकमा जस्तो सूचना अधिकारी राखेको छैन । सञ्चार माध्यमलाई सूचना दिन समेत कन्जुस्याई गर्ने गरेको भन्दै यो बैंकको चर्को आलोचना हुने गरेको छ । हुन त यो बैंकले वर्षे्नि अनेकौँ अवार्डहरु पाउने गरेको छ । तर, नेपालीको मन जित्न भने सकेको छैन । यो बैंकबारे फोन गरेर जानकारी लिन खोजे बैंकका मार्के्टिङ डिपार्ट प्रमुख दिवाकर पौडेल वा नविन रानालाई कल ट्रान्सफर गर्छ । तर, उनीहरुलाई प्रश्न सोधे सिधै थाहा छैन भन्ने उत्तर आउने गरेको छ । बैंकिङ खबरले स्थानीय तहमा स्टान्डर्ड चार्टर्ड बैंकको शाखा सञ्जाल विस्तारको योजनाबारे सोध्दा बैंकका कर्मचारीहरुले उत्तर दिन चाहेनन् । यसरी पटकपटक नै यो बैंकले जानकारी लिन चाहनेलाई रित्तो हात फर्काउने गरेको छ । सूचना लिन बैंकमा नै पुगेपछि असहयोग गर्ने गरेको छ ।
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड विदेशी लगानीमा स्थापना भएको बैंक हो । नेपालमा २०४४ सालमा स्थापना भएको स्टान्डर्ड चार्टर्ड बैंक नेपालमा स्टान्डर्ड चार्टड ग्रुपको ७५ प्रतिशत र नेपालीको २५ प्रतिशत लगानी छ । ग्रुपको लगानीमध्ये स्टाण्डर्ड चार्टर्ड अष्ट्रेलियाको ५० र स्टान्डर्ड चार्टर्ड बेलायतको २५ प्रतिशत लगानी छ । अनन्त नारायण अध्यक्ष रहेको यो बैंकको सीईओ जोसेफ सिल्भानस रहेका छन् । सीईओहित यो बैंकमा नौ जनाको एक्जिक्युटिभ कमिटि रहेको छ भने अध्यक्षसहित चार जनाको बोर्ड कम्पोजिसन रहेको छ । विश्वब्यापी मान्यता प्राप्त बैंक भए पनि सेयरधनीप्रतिको दायित्व निर्बाह र पारदर्शिता अबलम्बनमा समेत नेपालको स्टान्डर्ड चार्टर्ड निकै पछि परेको देखिन्छ ।



