२०७४ कार्तिक १९ गते

नुवाकोटका पाँच स्थानीय तह बैंकविहीन

नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैङ्क तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैङ्क स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैङ्क स्थापना गर्ने प्रतिबद्धता देखाए पनि त्यसको कार्यान्वयन नहुँदा आर्थिक तथा वित्तीय कारोबारका लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीयतहमा जानुपर्ने बाध्यता रहेको छ ।

बैङ्कको काम लिएर जिल्लाका पाँच गाँउपालिकाको स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम विदुर धाउन बाध्य भएका छन् । जिल्लामा रहेका निजी क्षेत्रका अधिकांश बैङ्कले सस्तो ब्याजदरमा निक्षेप संकलन गरी महङ्गो ब्याजदरमा कर्जा प्रवाह गरी सेवा प्रवाहभन्दा पनि नाफामुखी कार्य गरेका छन् । रासस