सनराइज बैंक लिमिटेडले पनि आठ अर्ब चुक्तापुँजी पुर्याउने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्तापुँजी पुर्याउन लागेको हो । गत जेठमा जारी गरेको ३० प्रतिशत हकप्रद सेयरपछि सनराइजको चुक्तापुँजी सात अर्ब आठ करोड रुपैयाँ पुगेको छ । संचालक समितिको प्रस्तावअनुसार उक्त चुक्तापुँजीको १५ प्रतिशतले हुने एक अर्ब छ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
बोनस सेयर पारित गर्नका लागि बैंकले कात्तिक ३० गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले हकप्रद सेयरको लिलामबाट कायम भएका सेयरधनीहरुले पनि बोनस सेयर पाउने जानकारी दिएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १३ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट तीन जना संचालकको निर्वाचन गर्ने बताइएको छ ।


