Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारी बीमा कम्पनीको यतिसम्म गैरजिम्मेवारीपन

२०७४ आश्विन २५ गते

लेखापरीक्षणमा सरकारी बीमा कम्पनीहरु नै गैर जिम्मेवार देखिएका छन् । सरकारी स्वामित्वका बीमा कम्पनीहरु राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले लामो समयदेखि आफ्नो लेखा परीक्षण गराएका छैनन् । महालेखा परीक्षकको कार्यालयका अनुसार, यी कम्पनीहरुले आर्थिक वर्ष २०६६÷६७ देखिको लेखा परीक्षण गराएका छैनन् ।

दशकौँदेखि लेखा परीक्षण नभएपछि महालेखा परीक्षकको कार्यालयले बीमा संस्थान र बीमा कम्पनीलाई भदौसम्ममा जसरी पनि हालसम्मको सम्पूर्ण वित्तीय विवरणको लेखापरीक्षण गरिसक्न निर्देशन दिएको थियो । कार्यालयले तोकिएको समयसम्ममा पनि लेखापरीक्षण नगरे कारबाहीका लागि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा सिफारिस गरिने चेतावनी समेत दिएको थियो । ऐनकै विपरीत गएर लामो समयदेखि लेखापरीक्षण नगराई लाखौँ बिमितको भरोसासँग खेलवाड गरेको भन्दै यी कम्पनीहरुलाई छिटै लेखा परीक्षण गर्न निर्देशन दिइएको थियो ।

महालेखा परीक्षकको कार्यालयले ताकेता गरेपछि अब भने राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले वित्तीय लेखापरीक्षण गर्ने कार्य अघि बढाएका छन् । महालेखा परीक्षकको कार्यलयका अनुसार भदौ अन्तिमसम्ममा बीमा संस्थानले आव २०६६÷६७ देखि २०६८÷६९ सम्मको वित्तीय विवरण प्रमाणित गरिसकेको छ । तर, प्रारम्भिक प्रतिवेदनको जवाफ भने आउन बाँकी रहेको बताइएको छ । त्यस्तै, त्यसपछिका आवदेखि आव २०७१÷७२ सम्मको लेखापरीक्षण गर्न लेखापरीक्षक  नियुक्त गरिसकिएको र आव २०७२÷७३ को वित्तीय विवरण तयारीको क्रममा रहेको कार्यलयले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले आव २०६६÷६७ देखि २०६८÷६९ सम्मको प्रारम्भिक प्रतिवेदनको जवाफ दिन बाँकी रहेको बताएको छ । आव २०६९÷७० पछिको लेखापरीक्षण गर्न भने लेखापरीक्षक नियुक्त भइसकेको र अब छिटै नै लेखा परीक्षण सक्ने कार्ययोजना तय भएको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ ।

बीमा संस्थान र बीमा कम्पनीले लामो समयदेखि लेखा परीक्षण नगरेकै कारण समितिले प्रमाणपत्र नवीकरणसमेत गरेको थिएन । तर, लाखौं बिमितको दायित्व रहेकाले समितिले व्यवसाय सञ्चालनमा भने रोक लगाउन सकेको थिएन ।

ऐनमा के छ ?
बीमा ऐन २०४९ को दफा २३ अनुसार बिमकले प्रत्येक आव समाप्त भएको ६ महिनाभित्र बिमा व्यवसायसम्बन्धी आफ्नो सम्पूर्ण कारोबारको बासलात तथा नाफा नोक्सानीको हिसाव प्रकाशित गरी सोको एकप्रति समितिमा पेश गर्नु पर्नेछ । त्यस्तै दफा २५ अनुसार बिमकले आपूmले गरेका बिमा व्यवसायको हिसाब किताबको लेखा परीक्षण प्रचलित कानुनबमोजिम मान्यताप्राप्त लेखापरीक्षकद्वारा गराई यसको प्रतिवेदन प्रत्येक आव समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नु पर्नेछ ।

त्यस्तै, समितिको पछिल्लो निर्देशनअनुसार बिमकहरूले बिमांकीय मूल्यांकन गर्नको लागि आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्रै समितिसँग स्वीकृति लिनुपर्नेछ । त्यस्तै, आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्रमा लेखापरीक्षण सहितको विवरण बुझाउनु पर्नेछ । छ महिनाभित्रमा वार्षिक साधारणसभा गरिसक्नु पर्नेछ ।