२०७४ श्रावण २७ गते

कृषिमा डिजिटल फाइनान्स

धर्मेन्द्र कर्ण । विश्वमा डिजिटल प्रविधिले समाजको विभिन्न गतिविधिले प्रभाव पार्दै गएको छ । कृषि क्षेत्रमा डिजिटल प्रविधिले पारेको प्रभावलाई विश्व बैंकले आफ्नो प्रतिवेदनमा सफल कथाको रूपमा प्रस्तुत गरेको छ । 

कृषि उत्पादकत्व केही वर्ष अघिसम्म नाइजेरियामा निरन्तर ओरालो लागिरहेको थियो । कृषि उत्पादकत्वमा भइरहेको ह्रास निरन्तर थियो भने सरकारको कृषि खर्च बढ्दै गइरहेको थियो । तर जब डिजिटल प्रविधिको प्रयोगलाई कृषि क्षेत्रको चालक तत्वको रूपमा प्रयोग गरियो, यसले आर्थिक वृद्धिले अगुवाइ गर्न प्रेरित गर्न थालेको देखिएको छ ।

मोबाइल वालेट प्रणालीलाई नाइजेरियाको सरकारी र निजी क्षेत्रले संयुक्त रूपमा अगाडि बढायो । मोबाइल सेवा प्रदायक कम्पनी सेलुल्यान्टले यसमा सहयोग गरेको थियो । नाइजेरियाका साना किसानहरू अनुदानमा उपलब्ध गराइन मलखादमा निर्भर छन् । तर अनुदानले पनि कृषि उत्पादकत्वमा सफलता प्राप्त गरेन ।

सन् २०१२ मा वृद्धि सुदृढीकरण सहयोग योजनाले मलखादमा दिइने अनुदान वितरणको कार्यलाई मोबाइल प्रविधिमार्फत गर्न सुरू ग¥यो । यसबाट किसानहरूलाई सीधा सम्पर्क गरी मलखाद खरिद गरी वितरण गर्ने कार्य सुरू गरियो । अहिले यो योजनाले कुल लागतको छैटौं भाग खर्च गरेर अघि अनुदान उपलब्ध गराउन गरिएको किसानहरूको संख्यालाई दोब्बरलाई समावेश गरेको छ ।

यो अनुदान वितरण प्रणालीमा १ करोड ५० हजार किसान निर्भर छन् । यसमा दर्ता गरिएका किसानहरूले अनुदान सहज रूपमा पाउँछन् र उनीहरूको वित्तीय गतिविधि औपचारिक हुन पुगेको छ ।

नाइजेरियामा डिजिटल फाइनान्सको सुरूवाती सफलताले यो प्रणाली निरन्तर विस्तार भइरहेको छ । यो प्रणालीले नाइजेरियाको अतिदुर्गम क्षेत्रका किसानलाई सुविधा पु¥याइरहेको विश्व बैंकको सो प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकको प्रतिवेदनमा डिजिटल फाइनान्सले वित्तीय समावेशीतालाई प्रोत्साहन गरेको छ । यसमा ८० प्रतिशत गरिबहरूलाई पु¥याइने वित्तीय सेवाको पहुँचलाई समेत समावेश गरिएको छ । ती गरिब समुदाय जो वित्तीय नियमितताबाट बाहिर बसिरहेका छन्, उनीहरूलाई पनि यसमा समावेश गर्न सहज भइरहेको प्रतिवेदनको बुझाइ छ ।

डिजिटल फाइनान्सले वित्तीय गतिविधिलाई सहज र सरल बनाइ दिएपछि वित्तीय गतिविधिमा भइआएको लागतलाई घटाइ दिएको छ भने अर्कोतर्फ सेवालाई द्रुत गतिमा सहज उपलब्ध गराइदिएको छ ।

डिजिटल फाइनान्सले उदाउँदो विकासशील देशहरूमा सिर्जनशीलतालाई बढाइरहेको पाइएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । डिजिटल फाइनान्सको सफल प्रयोगले यसबाट विभिन्न आर्थिक गतिविधि क्षेत्रको वृद्धिलाई प्रवद्र्धन गरिरहेको विषयलाई जनसमुदायमा बहस तीव्र पारिदिएको छ ।

तर यसका जोखिमलाई भने बेवास्ता गरिएको छैन । डिजिटल फाइनान्सको प्रयोगको दुर्बल पक्ष साइबरक्राइमको जोखिमलाई पनि औंल्याइएको छ । यस्ता जोखिम यसक्षेत्रमा थपिँदै गए पनि डिजिटल फाइनान्सले एकातर्फ वृद्धिका सफलतालाई स्थापित गरिरहेको छ । विश्वमा दुई अर्बभन्दा बढीले अझसम्म कुनै किसिमको वित्तीय सेवाको पहुँच कायम गर्न सकेका छैनन् । 

विकासशील देशहरूमा ५९ प्रतिशत पुरूष र ५० प्रतिशत महिलासँग मात्र कुनै वित्तीय प्रतिष्ठानका खाता सञ्चालनमा रहेको पाइएको छ । जसलाई औपचारिक वित्तीय गतिविधि वा नियमित वित्तीय गतिविधिको रूपमा बुझिने गरिन्छ ।

महिला र गरिब र साना धन्दा गरिबसेकाहरू अझ अनौपचारिक वित्तीय सेवामै आश्रित रहेका छन् । जब कि उनीहरूले औपचारिक रूपमा पाएको विप्रेषणको उपयोग पनि अनौपचारिक वित्तीय गतिविधिमा गर्ने गरेको पाइएको छ ।

यस्तो समस्यालाई समाधान गर्न डिजिटल भुक्तानी प्रणाली राम्रो उपाय हुन्छ । यस्ता समूहका लागि मोबाइल मनी स्किमले नियमित वित्तीय सेवा प्रणालीमा ल्याउन सहयोग गर्न सक्छ । यो प्रणालीको विस्तार तीव्र एवं आमरूपमा फैलिँदै गइरहेको छ । डिजिटल भुक्तानीले प्राप्तकर्ताको लागत पनि घटाउँछ । 

नाइजेरियामा यसका सफल उदाहरणहरूको चर्चा विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । यस्ता गतिविधिका लागि गुगल वालेट र एप्पल एपले डिजिटल भुक्तानीलाई सघाइरहेको छ । यस्ता मोबाइल मनी सिस्टमले परम्परागत भुक्तानीलाई परिवर्तन गर्दै गइरहेको छ । डिजिटल फाइनान्स अन्र्तगतका डिजिटल मुद्राले भुक्तानी स्किमलाई विकेन्द्रीकृत गर्दै लगेको छ ।

यस्ता भुक्तानी योजनाले कारोबारको रेकर्ड समेत राख्ने गरेको छ । डिजिटल मुद्राको रूपमा बिटकोइनलगायतका मुद्राहरू प्रयोगमा रहेको पाइन्छ । सन् २०१४को एक प्रतिवेदन अनुसार विश्वभर बिटकोइनको कारोबार २३ अर्ब अमेरिकी डलर बराबर रहेको थियो ।

यसैगरी एम पेसाको कारोबार २४ अर्ब अमेरिकी डलर थियो । यसैगरी पेपलको कारोबार २ खर्ब २८ अर्ब अमेरिकी डलर बराबरको रहेको उल्लेख गरिएको छ । भिसा क्रेडिट कार्डबाट कारोबारको अवस्था ४.७ अर्ब अमेरिकी डलर बराबरको रहेको बैंक अफ इंग्ल्यान्डलाई स्रोतको रूपमा प्रतिवेदन उल्लेख गरेको छ ।

डिजिटल फाइनान्सले महिलाहरूको आर्थिक गतिविधिमा सहभागीता बढाइदिएको छ । डिजिटल भुक्तानीले नगद भुक्तानीलाई हटाउँदै गएको छ । जसलाई नगदहीन भुक्तानी (क्यासलेस पेमेन्ट) भनिन्छ ।

महिलाहरूको सशक्तिकरणलाई पनि यसले सहयोग पु¥याइरहेको छ । उनीहरूमा वित्तीय निर्णय गर्ने क्षमताको विकास र वित्तीय गतिविधि गर्न पाउने शक्ति हस्तान्तरण भइरहेको छ । साथै महिलाहरूलाई व्यावसायिक गतिविधिमा संलग्न गराउन सहज बनाइरहेको छ ।

तर केही वित्तीय गतिविधिमा यसको प्रयोगलाई बढी जोखिम हुन सक्ने देखेर तत्काल यसको प्रयोग हुन सक्ने देखिएको छैन । ऋण, स्टक, बोन्डजस्ता वित्तीय गतिविधिमा यस्ता डिजिटल उपकरणको प्रयोग छिट्टै हुनेमा आंशका व्यक्त गरिएको छ ।

कृषि क्षेत्रमा कसरी नियमित र सुपरिवेक्षण गर्ने नीतिगत विषयमा छलफल भइरहेको छ । यस क्षेत्रमा उपभोक्ताको सुरक्षाको विषयलाई बढी ध्यान दिइएको छ । कृषिप्रधान नेपालको हकमा यस्ता सफलताका कथाबाट सिकेर नीति तथा कार्यक्रम लागू गर्न सके कृषि क्षेत्रमा डिजिटल प्रविधिले स्थान पाउनेछ भने कृषक र मुलुककै अर्थतन्त्र बलियो बन्न सक्छ । (विश्व बैंकले प्रकाशन गरेको आलेखमा आधारित) कारोबार दैनिकमा प्रकाशित समाचार