२०७४ श्रावण २५ गते

हाइड्रोपावरले छलाङ मार्दै, दर्जनबढी पाइपलाइनमा

सुष्मा थापा – सेयर बजारमा यो वर्ष जलविद्युत् समूहको हिस्साले छलाङ मार्ने देखिएको छ । हालसम्म बैंक र बीमा समूहकै मात्र प्रभुत्व जमिरहेको बजारमा अब जलविद्युत् क्षेत्र पनि प्रतिष्पर्धामा उत्रिने देखिएको छ ।   सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेका र निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूको संख्या हेर्दा यो वर्ष कम्तीमा डेढ दर्जन जलविद्युत् कम्पनी नेपाल स्टक एक्सचेञ्जमा थपिने देखिएको छ । हालसम्म सेयर निष्काशन गरिसकेका पाँच जलविद्युत् कम्पनीको सेयर नेप्सेमा सूचिकृत हुन बाँकी छ । यसका अलावा १३ वटा जलविद्युत् कम्पनीको सेयर निष्काशन हुने क्रममा छ । यी १८ कम्पनी चालू वर्षमा नै सेयर बजारमा थपिएपछि सेयर बजारको भोल्युम समेत उत्साहजनक रुपमा बढ्नेछ । 

हाल सेयर निष्काशन प्रक्रियामा रहेका कम्पनीहरूमध्ये अधिकांशले स्थानीयवासीका लागि सेयर निष्कासन गर्न लागेका छन् । जलविद्युत् कम्पनीहरूले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जलविद्युत् लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितलाई बाहेक थप कम्तीमा १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ । त्यसपछि दोस्रो बजारमा कारोबार लागि नेप्सेमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था छ । 

निष्कासनको तयारीमा रहेका कम्पनीहरूमा आँखुखोला जलविद्युत्, गर्जङ उपत्यका हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, शुभम् पावर, लफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल कम्पनी र कालिका पावर कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि सेयर निष्कासन गर्दै छन् । बुटवल पावर कम्पनी र रिडी विद्युत् कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन अनुमति मागेका छन् ।

बैंक वित्तको प्रभुत्व तोडिँदै
हाल नेप्सेमा १५ जलविद्युत् कम्पनी सूचिकृत छन् । चालू आर्थिक वर्षभित्रमा नै यो संख्या बढेर ३३ पुग्नेछ । सूचिकृत कम्पनी थपिएपछि यो समूहको कारोबार हिस्सा पनि दोब्बरले बढ्ने अनुमान गरिएको छ । विगत लामो समयदेखि सेयर बजारको ८० प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा समूहले आगट्दै आएका छन् । अब भने जलविद्युत् कम्पनीको संख्या बढेसँगै वित्तीय क्षेत्रका कम्पनीहरूको प्रभुत्व घट्ने अपेक्षा गरिएको छ । त्यमाथि पनि पुँजीवृद्धिका कारण बैंकहरुको संख्या घटेको छ । यसले गर्दा पनि अब सेयर बजारमा बैंक वित्तकै मात्र हालीमुहाली नरहने देखिन्छ ।