२०७४ श्रावण २५ गते

महालक्ष्मीले मुनाफामा मार्यो छलाङ, वाणिज्य बैंक बन्ने कसरत

रोयल आचार्य – गत असार १८ गते यति डेभलपमेन्ट बैंकलाई मर्ज गरेर चुक्ता पूँजी पुर्याउने पहिलो विकास बैैंक बन्न सफल महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्ष २०७२.७३ को सञ्चालन मुनाफामा छलाङ मारेको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ मा एक अर्ब १० करोड संचालन मुनाफा हासिल गरेको हो । वि.स. २०५२ सालमा फाइनान्सबाट शुरु भएको महालक्ष्मी २०७४ सम्म आइपुग्दा मुलुकको सफल र बलियो विकास बैंकको रुपमा स्थापित भएको हो । 

सबै एंगलबाट नम्बर वान विकास बैंक
महालक्ष्मी अहिले सञ्चालन मूनाफामा मात्रै नभएर सबै एंगलबाट पहिलो विकास बैंकको रुपमा स्थापित भएको छ । चुक्ता पूँजी, निक्षेप संकलन, शाखा संख्या, ग्राहक संख्या तथा कर्मचारी संख्या समेतमा महालक्ष्मी सबैभन्दा ठूलो विकास बैंक हो । यस बैंकले २०७४ साल आषाढ मसान्तसम्ममा २५ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । यस बैंकको नेपालभरी जम्मा ६५ शाखा रहेको छ भने ग्राहक संख्या ३ लाख ६५ हजार पुग्न गएको छ । बैंकको चुक्ता पूंजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । महालक्ष्मीमा हाल ६ सय १९ जना कर्मचारी कार्यरत छन् । 

वाणिज्य बैंक बन्ने योजना 
महालक्ष्मीलाई वाणिज्य बैंकको रुपमा विकास गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले बताएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा प्रमुख कार्यकारी अधिकृत भट्टराईले आगामी योजनाको रुपमा प्रविधियुक्त कारोबार शुरु गरेर विकास बैंकहरुलाई मर्ज गरी वाणिज्य बैंक बन्ने योजना रहेको बताएका हुन् । ‘कारोबारलाई सु–व्यवस्थित गरेर सिष्टमहरुलाई बलियो बनाउने, गुणस्तरीय सेवा प्रदान गर्ने समेतका योजना बनाएका छौं’, बैंकिङ खबरसँगको कुराकानीमा सीईओ भट्टराईले भने ‘गुणस्तरीय सेवाका साथै समान तहका बैंकलाई मर्ज गरेर वाणिज्य बैंकको रुपमा स्थापित हुने लङ्ग ट्रमको योजना रहेको छ ।’ वाणिज्य बैंक बन्नका लागि शाखा, कर्मचारी संख्या लगायतका मापदण्ड पुरा भइसकेको भन्दै उनले अब कर्मचारीलाई तालिम दिएर दक्ष बनाउने बताए । गुणस्तरीय, प्रविधिमैत्री सेवा र वाणिज्य बैंकको रुपमा स्थापित हुने उनको भनाई छ ।  

वाणिज्य बैंकसँग प्रतिष्पर्धा 
महालक्ष्मी विकास बैंक ‘ख’ वर्गको विकास बैंक भएपनि सञ्चालन मुनाफाका आधारमा ‘क’ वर्गका वाणिज्य बैंक जत्तिकै बलियो भएको छ । यस बैंक अहिले सञ्चालन मुनाफाका आधारमा केहि वाणिज्य बैंकभन्दा बलियो हुने देखिएको छ ।
 
अहिले वित्तीय विवरण सार्वजनिक गरिसकेका वाणिज्य बैैकको प्रगती विवरण हेर्दा महालक्ष्मीले केहि वाणिज्य बैंकसँग प्रतिष्पर्धा गरिरहेको छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुमध्ये नविलको साढे तीन अर्ब, ग्लोबल आईएमईको दुई अर्ब र प्रभुको नाफा पौने दुई अर्ब नाघेको छ । त्यस्तै, एनएमबि बैंकले एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ, प्राइम बैंकले एक अर्ब ४८ करोड २८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले एक अर्ब ४६ करोड ९६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ, माछापूछ्रे बैंकले एक अर्ब ३० करोड १० लाख रुपैयाँ, सानिमा बैंकले एक अर्ब ३० करोड एक लाख रुपैयाँ, सिटिजन्स बैंकले एक अर्ब २१ करोड एक लाख रुपैयाँ,सनराइज बैंकले एक अर्ब १६ करोड रुपैयाँ र लक्ष्मी बैंकले एक अर्ब २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यि वाणिज्य बैंकहरुसँग प्रतिष्पर्धामा महालक्ष्मी देखिएको छ ।

महालक्ष्मीको इतिहास 
२९ औं वाणिज्य बैंकको रुपमा स्थापित हुने तरखरमा रहेको महालक्ष्मी विकास बैंकको इतिहास रोमाञ्चक छ । वि.स. २०५२ साल मंसीर १५ गते प्रमुख कार्यकारी अधिकृत सहित जम्मा ४ जना कर्मचारीबाट मात्रै शुरु गरिएको महालक्ष्मी फाइनान्स नै अहिलेको नम्बर वान विकास बैंक हो । तत्कालिन महालक्ष्मी फाइनान्सको जम्मा चुक्ता पूँजी ७५ लाख रुपैयाँ मात्रै रहेको थियो । फाइनान्सको रुपमा स्थापना भएको महालक्ष्मी २०७३ सालमा भाद्र २१ गते मालिका विकास बैंक र सिद्धार्थ फाइनान्ससँग मर्ज भएर महालक्ष्मी विकास बैंकको रुपमा उदय भएको हो । त्यसपछि गत असार १८ गते यती डेभलपमेन्ट बैंकसँग मर्ज भएर महालक्ष्मी बैंककै नामबाट एकिकृत कारोबार शुरु गरेको थियो । ४ जना कर्मचारीबाट शुरु भएको महालक्ष्मीमा अहिले ६ सय १९ जना कर्मचारी कार्यरत छन भने ७५ लाख चुक्ता पूँजीबाट शुरु भएको महालक्ष्मीको अहिले २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।