२०७४ श्रावण २५ गते

अर्बपति क्लबमा विकास बैंकको सहभागिता, महालक्ष्मीले कमायो एक अर्ब १० करोड

रोयल आचार्य/बैंकिङ खबर
महालक्ष्मी विकास बैंक लिमिटेड अर्बपति क्लबमा पर्न सफल भएको छ । यससँगै अर्वपति क्लबमा पर्ने विकास बैंकहरुमा महालक्ष्मी पहिलो बनेको छ । बैंकले आर्थिक वर्ष २०७३।७४ मा एक अर्ब १० करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।
 
साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर गत आषाढ १८ गतेदेखि एकिकृत कारोवार सुरु गरेको यस बैंकले आषाढ मसान्तसम्ममा २५ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । यस बैंकको नेपालभरी जम्मा ६५ शाखा रहेको छ भने ग्राहक संख्या ३ लाख ६५ हजार पुगेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
 
वाणिज्य बैंकसँग प्रतिष्पर्धा
महालक्ष्मी विकास बैंक ‘ख’ वर्गको विकास बैंक भएपनि सञ्चालन मुनाफाका आधारमा ‘क’ वर्गका वाणिज्य बैंक जत्तिकै बलियो भएको छ । यस बैंक अहिले सञ्चालन मुनाफाका आधारमा केहि वाणिज्य बैंकभन्दा बलियो हुने देखिएको छ ।
 
अहिले वित्तीय विवरण सार्वजनिक गरिसकेका वाणिज्य बैैकको प्रगती विवरण हेर्दा महालक्ष्मीले केहि वाणिज्य बैंकसँग प्रतिष्पर्धा गरिरहेको छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुमध्ये नविलको साढे तीन अर्ब, ग्लोबल आईएमईको दुई अर्ब र प्रभुको नाफा पौने दुई अर्ब नाघेको छ । त्यस्तै, एनएमबि बैंकले एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ, प्राइम बैंकले एक अर्ब ४८ करोड २८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले एक अर्ब ४६ करोड ९६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ, माछापूछ्रे बैंकले एक अर्ब ३० करोड १० लाख रुपैयाँ, सानिमा बैंकले एक अर्ब ३० करोड एक लाख रुपैयाँ, सिटिजन्स बैंकले एक अर्ब २१ करोड एक लाख रुपैयाँ,सनराइज बैंकले एक अर्ब १६ करोड रुपैयाँ र लक्ष्मी बैंकले एक अर्ब २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यि वाणिज्य बैंकहरुसँग प्रतिष्पर्धामा महालक्ष्मी देखिएको छ ।