बैंकिङ खबर / राष्ट्रिय स्तरको कारोबार गर्ने आधा दर्जन विकास बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुद्धारा सार्वजनिक गरिएको अपरिष्कृत विवरणका अनुसार, गण्डकी विकास बैंकले सबैभन्दा धेरै मुनाफा आर्जन गरेको छ । सबै विकास बैंकको नाफा बढेको छ । समग्रमा, छ वटै विकास बैंकको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ :
गण्डकी विकास बैंक लिमिटेड
गण्डकी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ५४ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८३ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा गण्डकीले २९ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब ८४ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ९३ करोड ४९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६३ दशमलव ६३ प्रतिशतले वृद्धि गरी १८ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६० प्रतिशत वृद्धि गरी १६ अर्ब ५१ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ८३ दशमलव ३० प्रतिशतले बढेर एक अर्ब छ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७६ दशमलव ८९ प्रतिशतले बढेर ८४ करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा दुई करोड ४६ लाख रुपैयाँ राखेको छ ।
गण्डकी विकास बैंकको पुँजीकोषको अनुपात १९ दशमलव ५८ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ४० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २९ दशमलव ३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ५० दशमलव रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८७ गुणा रहेको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा खुद मुनाफामा ३८ दशमलव ५४ प्रतिशत प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३५ करोड ८८ लाख रुपैयाँ नाफा गरेको बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।
एक अर्ब ५४ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकले जगेडा कोषमा ७७ करोड ६० लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ४८ दशमलव ७६ प्रतिशतले वृद्धि गरी १६ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५४ दशमलव ६४ प्रतिशतले वृद्धि गरी १५ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ४९ दशमलव २७ प्रतिशतले बढेर एक अर्ब तीन करोड आठ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३८ दशमलव ६४ प्रतिशतले बढेर ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा पाँच करोड ६७ लाख रुपैयाँ रादिएको छ भने खराब कर्जा ५९ लाख रुपैयाँ उठाएको छ ।
मुक्तिनाथ विकास बैंकको निष्कृय कर्जा शून्य दशमलव शून्य २ प्रतिशत, पँुजी कोषको अनुपात १४ दशमलव ९६ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ३२ दशमलव ११ रुपैयाँ, मूल्य आम्दानीको अनुपात वार्षिक ३० दशमलव २४ गुणा, प्रतिसेयर नेटवर्थ १४ दशमलव ८० रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६७ प्रतिशत रहेको छ ।
ओम डेभलपमेन्ट बैंक लिमिटेड
ओम डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ दशमलव २८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा ओमले २९ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब ६४ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी भएको ओम डेभलपमेन्ट बैंकले २३ करोड ४७ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । निक्षेपमा ३५ दशमलव ५० प्रतिशतले वृद्धि गरी १६ अर्ब छ करोड १४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४१ दशमलव ६२ प्रतिशतले वृद्धि गरी १४ अर्ब ५ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ९७ दशमलव २९ प्रतिशतले बढेर ८७ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८४ दशमलव ८३ प्रतिशत पुगेको छ । बैंकले प्रोभिजनमा चार करोड २६ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९० प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात १७ दशमलव १९ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी वार्षिक २६ दशमलव ३७ रुपैयाँ रहेको बैंकको मुल्य आम्दानीको अनुपात वार्षिक २३ दशमलव ८६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६० दशमलव ४३ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ०५ प्रतिशत रहेको छ ।
गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा खुद मुनाफा ५३ दशमलव ३६ प्रतिशतले वृद्धि गरी ३४ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा गरिमाले २२ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
दुई अर्ब २० करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा बैंकले जगेडाकोषमा ६२ करोड ५५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५७ दशमलव २७ प्रतिशतले वृद्धि गरी १४ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १२ अर्ब ९९ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६३ दशमलव १८ प्रतिशतले बढेर ७४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ४९ दशमलव ८५ प्रतिशतले बढेर ५२ करोड ६५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा तीन करोड नौ लाख रुपैयाँ राखिएको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव २४ प्रतिशत, पूँजीकोषको अनुपात २५ दशमलव ०४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १५ दशमलव ५५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ०४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २८ दशमलव ३८ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ०५ प्रतिशत रहेको छ ।
देवः विकास बैंक लिमिटेड
देवः विकास बैक लिमिटेडले गत आर्थिक वर्षमा २८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ६५ लाख रुपैयाँ कमाएको बैंकले मुनाफामा ११ दशमलव ९८ प्रतिशत सुधार गरेको हो ।
एक अर्ब ४४ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४७ करोड ६४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३९ दशमलव २४ प्रतिशतले वृद्धि गरी १० अर्ब ४१ करोड ३२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा नौ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६१ दशमलव ९८ प्रतिशतले बढेर ५५ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४४ दशमलव ४४ प्रतिशतले बढेर ४१ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा एक करोड २२ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा दुई दशमलव ७५ प्रतिशतले घटेर एक दशमलव २४ प्रतिशत कायम भएको छ भने पूँजीकोष अनुपात एक दशमलव एक प्रतिशतले बढेर १ दशमलव २४ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २० दशमलव ०३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १२ दशमलव ९३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३२ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ११ प्रतिशत रहेको छ ।
ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेटले अघिल्लो आर्थिक वर्षको तुलनामा ७२ दशमलव ३० प्रतिशतले वृद्धि गर्दै गत आर्थिक वर्षमा २६ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ज्योतिले १५ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
दुई अर्ब १२ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४६ करोड १४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३६ दशलमव ९८ प्रतिशत वृद्धि गरी १० अर्ब ५१ करोड ६० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५२ दशमलव ०७ प्रतिशतले वृद्धि गरी नौ अर्ब १३ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५३ दशमलव ७७ प्रतिशतले बढेर ५० करोड ९५ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ७९ दशमलव ०९ प्रतिशतले बढेर ३१ करोड ७० लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा चार करोड ३६ लाख रुपैयाँ राखिएको छ भने छ करोड नौ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिक १२ दशमलव ३० रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ८३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २१ दशमलव ६७ रुपैयाँ र तरलता अनुपात ३६ दशमलव ५० प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा दशमलव ६५ प्रतिशतले घटेर शुन्य दशमलव ७४ प्रतिशत र पूँजीकोष अनुपात ७ दशमलव ८७ प्रतिशतले बढेर २४ दशमलव ६६ प्रतिशत पुगेको छ ।