रुपा कोइराला । वाणिज्य बैंकहरूले गत वर्ष खुद मुनाफामा छलाङ मारेका छन् । हालसम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका १२ वाणिज्य बैंकहरूको तथ्यांक हेर्दा सबै बैंकहरु अर्वपति बनेका छन् । यीमध्ये, तीन वटा बैंक यसपालीदेखि अर्वपति क्लबमा प्रवेश गरेका छन् । सनराइज बैंक, माछापूछ्रे बैंक र लक्ष्मी बैंकले गत आर्थिक वर्षमा पहिलोपटक अर्बमाथि नाफा कमाएका हुन् । बैंकहरूको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफा पनि बढेको हो ।
नाफा धेरै कमाउनेमा नविल बैंक अगाडी
यसपाली नविल बैंकले चमत्कारिक प्रगति हासिल गर्दै खुद मुनाफा साढे तीन अर्ब नघाएको छ । बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको मुनाफा दुई अर्ब ९३ करोड रुपैयाँ थियो । सम्भवतः गत आर्थिक वर्षमा सबैभन्दा धेरै मुनाफा नविलने नै कमाएको छ । अघिल्लो वर्ष एक अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको ग्लोबल आईएमई बैंकले गत वर्ष दुई अर्ब नघाएको छ । बैंकले दुई अर्ब छ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
यसबाहेक, प्रभु बैंकले एक अर्ब ७५ करोड १५ लाख रुपैयाँ, एनएमबि बैंकले एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ, प्राइम बैंकले एक अर्ब ४८ करोड २८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले एक अर्ब ४६ करोड ९६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ, माछापूछ्रे बैंकले एक अर्ब ३० करोड १० लाख रुपैयाँ, सानिमा बैंकले एक अर्ब ३० करोड एक लाख रुपैयाँ, सिटिजन्स बैंकले एक अर्ब २१ करोड एक लाख रुपैयाँ, सनराइज बैंकले एक अर्ब १६ करोड रुपैयाँ र लक्ष्मी बैंकले एक अर्ब २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।
नाफा धेरै बढाउनेमा प्रभु अगाडी
अघिल्लो आर्थिक वर्षको तुलनामा प्रभु बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो अवधिमा बैंकले ५२ दशमलव ६० प्रतिशत नाफा बढाउन सफल भएको देखिन्छ । ग्लोबल आईएमईको नाफा ४९ प्रतिशतले बढेको छ । त्यसपछि, यसपाली अर्वपति बनेका बैंकहरु लक्ष्मी र माछापूछ्रेको नाफा क्रमशः ४८ प्रतिशत र ४४.८७ प्रतिशतले बढेको छ । यसबाहेक, एनआईसी एसियाको ३८ प्रतिशत, एनएमबिको ३५.५४ प्रतिशत, प्राइमको ३२.९१ प्रतिशत, सानिमाको ३०.५३ प्रतिशत, नविलको २८.४२ प्रतिशत, सनराइजको १२.८१ प्रतिशत, सिद्धार्थको १२.१९ प्रतिशत र सिटिजन्सको १२.०१ प्रतिशतले नाफा बढेको छ ।
पुँजीवृद्धिको कमाल
गत वर्षको मुनाफा वृद्धिमा पुँजीवृद्धिको ठूलो योगदान छ । नेपाल राष्ट्र बैंकको पुँजीवृद्धिको नीतिले बैंकहरुलाई सबल र विश्वसनीय मात्र बनाएको छैन, उनीहरुको व्यवसाय विस्तारमा पनि मद्दत पुगेको छ । फलस्वरुप बैंकको नाफा वर्षेनि बढिरहेको छ ।