यज्ञ बञ्जाडे, / बैंकहरूले प्रवाह गर्ने ओभरड्राफ्ट कर्जामा राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । ओभरड्राफ्टमा प्रवाह भएको कर्जा उद्देश्य विपरीत अनुत्पादक क्षेत्रमा गएको देखिएपछि राष्ट्र बैंकले कडाइ गर्न लागेको हो । यसका लागि राष्ट्र बैंकले निर्देशिका ल्याउने तयारी थालेको छ । ‘सुरुमा बैंकहरूले प्रवाह गरेको ऋण कुन–कुन क्षेत्रमा खर्च भएको छ, त्यो पत्ता लगाउँछौं र त्यसपछि नियन्त्रण तथा व्यवस्थापनका लागि थप निर्देशन दिन्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
राष्ट्र बैंकले ५/६ महिनाअघिदेखि नै बैंकहरूलाई अनुत्पादक क्षेत्रमा मनपरी ढंगले ऋण प्रवाह नगर्न कडा निर्देशन दिइसकेको छ । तर, उक्त निर्देशन आउनुअघि नै बैंकहरूले ठूलो रकम ओभरड्राफ्टमा लगानी गरिसकेका थिए । त्यही ऋण विभिन्न माध्यमबाट अनुत्पादक क्षेत्रमा गएको राष्ट्र बैंकको आंशका छ । ठूलो रकम अनुत्पादक क्षेत्रमा प्रवाह हुँदा एकातिर ऋण असुलीको सम्भावना कम हुन्छ भने अर्कातिर अनौपचारिक अर्थतन्त्रको विस्तारमा टेवा पुग्छ । यस्ता सम्भावित असर न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा कडाइ गर्ने योजना बनाएको जनाइएको छ ।
करिब एक वर्षअघि बैंकहरूमा अधिक तरलता हुँदा मनपरी ढंगले ओभरड्राफ्टमा ऋण प्रवाह भएको थियो । पुँजी वृद्धिपछि ऋण विस्तारको दबाबमा रहेका बैंकहरूले अन्धाधुन्द तरिकाले यो क्षेत्रमा ऋण प्रवाह गरेका थिए । यसकारण यो शीर्षकमा गएको ठूलो ऋण घरजग्गा, सेयरलगायत अन्य अनुत्पादक क्षेत्रमा प्रवाह भएको देखिन्छ । यसकारण उक्त समयमा सेयर परिसूचक र घरजग्गाको मूल्य अकासिएको थियो ।
अनुत्पादक क्षेत्रको ऋण प्रवाहमा कडाइ गर्ने बित्तिकै ती क्षेत्रको कारोबारमा सुस्तता आउनुले ओभरड्राफ्टको पैसा उक्त क्षेत्रमा गएको पुष्टि हुन्छ । ‘स्पष्ट उद्देश्यबिनै पैसा जाँदा ती क्षेत्रमा बेथेती बढेको छ भने अनौपचारिक बजार पनि विस्तार भएको छ,’ स्रोतले भन्यो । केही व्यक्तिहरूले बैंकबाट ओभरडाफ्टमार्फत लिएको ऋण चर्को ब्याज आउने क्षेत्रमा पनि लगाएको जनाकारी आएको छ । ‘यस्तो रकम छोटो समयका लागि मिटर ब्याज (चर्को ब्याज) मा लगाउने क्रम निकै बढेको छ,’ स्रोतले भन्यो, ‘केहीले गाँउघरमा लगेर महँगो ब्याजमा ऋण प्रवाह गरेको पनि भेटिएको छ ।’
ओभरडाफ्टमा प्रावह भएको ऋणको सही उपयोग हुन नसकेको राष्ट्र बैंकले पनि स्वीकार गरेको छ । गभर्नरलगायत राष्ट बैंकका उच्च अधिकारीहरूले सार्वजनिक कार्यक्रमहरूमा पनि यसको खुलासा गरिसकेका छन् । ‘ओभरड्राफ्टमा प्रावह भएको ठूलो ऋण अझै पनि शंकास्पद छ,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले भने, ‘बैंकहरूले ओभरड्राफ्ट शीर्षकमा प्रवाह गरेको रकम उद्देश्य विपरीत अन्यन्त्र उपयोग भएको आशंका छ ।’ यसकारण बैंकहरूबाट ओभरड्राफ्टमा गएको ऋण अन्यन्त्र जान नपाओस् भन्ने उद्देश्यले छुट्टै निर्देशन जारी गर्न लागिएको उनले बताए । अनुत्पादक क्षेत्रमा ऋण प्रवाह नगर्न नैतिक दबाब दिने, उद्देश्यअनुसार ऋण उपयोगको सुनिश्चितता हुनुपर्ने, सम्बन्धित व्यक्तिले मात्र ऋण उपयोग गर्ने वातावरण बनाउनेलगायत पक्ष निर्देशनमा उल्लेख हुने थापाले बताए ।
ओभरड्राफ्ट कर्जाका लागि छुट्टै निर्देशन जारी गरी कडाइ गर्ने कुरा चालु आर्थिक वर्षको मौद्रिक नीतिमै उल्लेख गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने अधिविकर्ष कर्जा तथा माग एवं चालु पुँजी कर्जा सम्बन्धमा छुट्टै निर्देशन जारी गरिनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्टमा ३ खर्ब ४३ अर्ब रुपैयाँ प्रवाह गरेका छन् । यो सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल लगानीको करिब साढे १७ प्रतिशत हो । गत वैशाखामा बैंक तथा वित्तीय संस्थाको कुल लगानी १९ खर्ब ५८ अर्ब रुपैयाँ थियो । उक्त अवधिमा कुल लगानीको करिब ४२ प्रतिशत रकम अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ । ०७३ वैशाखको तुलनामा यो २९.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ओभरड्राफ्ट कर्जाबारे अध्ययन गरेपछि मात्र थप निर्देशन आउने राष्ट्र बैंकका प्रवक्ता एवं नियमन विभाग प्रमुख नारायणप्रसाद पौडेलले बताए । ‘अध्ययनका लागि केही समय लाग्न सक्छ, अध्ययनको सुझावका आधारमा निर्देशन जारी गर्छौं,’ पौडेलले भने । कान्तिपुर दैनिकमा प्रकाशित समाचार