रोयल आचार्य/बैंकिङ खबर- विराटनगरमा ठूलो परिमाण्को नक्कली नोटसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । एक लाख ७५ हजार नक्कली नोट सहित प्रहरीले आइतबार २२ बर्षीया संगीत महतो र २१ बर्षीया सुमन तालांगीलाई पक्राउ गरेको हो ।
एक लाख ७५ हजार नक्कली नोटसहित महतो र तालांगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सन्दिप भण्डारीले जानकारी दिए । एसपी भण्डारीका अननुसार महतोको साथबाट ५ सय दरका १ सय ५० थान ७५ हजार रुपैयाँ र तालाङीको साथबाट ५ सयदरकै २ सय थान १ लाख रुपैयाँ नक्कली नोट बरामद गरेको छ । ‘आइतबार दिउसो बिशेष सुराकी आएपछि विराटनगर चोक पुगेर पक्राउँ गरियो’ बैंकिङ खबरसँग टेलिफोन कुराकानी गर्दै मोरङ प्रहरी प्रमुख एसपी भण्डारीले भने, ‘हामीले सानो उमेरका दुई युवालाई पक्रोका छौं, यसमा ठूलै गिरोहको हात हुनपर्छ ।’ यतिका ठूलो परिमाणमा नक्कली नोट सानो तिनो व्यक्तिको नभएको भन्दै यसमा ठूलै गिरोहको संलग्नता रहेको उनले दाबी गरे । हाल यस बिषयमा अनुसन्धान भइरहेको र चाँडै नै यसमा संलग्न गिरोह समेत पक्राउ पर्ने एसपी भण्डारीको भनाई थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले खोटा चलन मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।
पछिल्लो घटनाले नेपालमा नक्कली नोटको कारोबार मौलाउँदै गएको देखाएको छ । विराटनगरको घटना मात्रै होइन विभिन्न समयमा विभिन्न ठाउँबाट नक्कली नोटका कारोबारी पक्राउ पर्दै आएका छन् । यसअघि नक्कली नोट छाप्ने मेसिनसहित वुटवलबाट एक युवा पक्राउ परेका थिए । गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ जाली नोट सम्बन्धी ऐन अनुसार मुद्धा चलाएको थियो । बुटवल उपमहानगरपालिका–११ स्थित नवदीपपथमा अपाङ्ग तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको अर्फन हेल्पिङ हेन्ड नामको गैरसरकारी संस्थाको कार्यालयबाट रुपन्देही जिल्ला कञ्चल गाउँपालिका–६ का २१ वर्षीय सन्तोष मल्ल पक्राउ परेका थिए । विराटनगरबाटै २०७३ साल भदौमा नक्कली १ हजारको नोट सहित विराटनगर–१३ का १८ वर्षीय प्रदीप महतोलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसभन्दा अघि पनि पोखरामा एक युवा पक्राउ परेका थिए । यस्ता घटनाले नक्कली नोटको कारोबार झनै बढ्दै गएको देखाएको छ ।
नक्कली नोट कारोबारीमा साना उमेरका युवा
मुलुकका विभिन्न स्थानबाट विभिन्न समयमा नक्कली नोटको कारोबारीका रुपमा पक्राउ परेका अधिकांश साना उमेरका युवाहरु रहेका छन् । आइतबार विराटनगरबाट ठूलो परिमाणको नक्कली नोट सहित पक्राउ परेका महतो र तिलांगी २१ र २२ बर्ष उमेरका मात्रै छन् । यसअघि नक्कली नोट छाप्ने मेसिन सहित पक्राउ परेका वुटवलका सन्तोष मल्ल पनि २१ बर्ष उमेरकै थिए । २०७३ साल भदौमा विराटनगरमै १ हजारको नक्कली नोट सहित पक्राउ परेका प्रदीप महतो त झन् १८ बर्षका मात्रै थिए । यस अघि विभिन्न समयमा विभिन्न ठाउँबाट पक्राउ परेका पनि धेरै २० देखि २५ बर्ष भित्रका उमेर समूहका युवाहरु रहेका छन् । कलेज जाने उमेरका यि युवाहरु नक्कली नोट कारोबारमा पक्राउ पर्नुले समाजमा नकरात्मक असर समेत परेको छ ।