२७ वटा वाणिज्य बैंकहरु स्थानीय तहमा जाने भएका छन् । स्टान्डर्ड चार्टर्ड बैंकबाहेक सबै बैंकहरुले आफूले जाने स्थानीय तहको नाम र संख्यासहित नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराएका छन् । देशभर रहेका सात सय ४४ स्थानीय तहमध्ये बैंक नभएर ४१२ स्थानीय तहमा पनि अब बैंक पुग्ने भएको हो । दुई सय ५० स्थानीय तहमा यसै वर्ष बैंकहरुले शाखा विस्तार गर्नेछन् ।
प्रभु बैंक सबैभन्दा बढी अर्थात् ३१ स्थानीय तहमा प्रभु बैंक जाँदैछ । सरकारी स्वामित्वका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक क्रमशः सात वटा, छ वटा र पाँच वटा स्थानीय तहमा जाने भएका छन् । सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, जनता बैंक, कुमारी बैंक, मेगा बैंक र एनएमबि बैंक क्रमशः १९, १८, १५, १३, ११ र १० स्थानीय तहमा पुग्दैछन् । यसबाहेक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंक नौ/नौ वटा स्थानीय तहमा जाँदैछन् भने नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बंगलादेश बैंक सात÷सात स्थानीय तहमा जाँदैछन् । त्यस्तै, सेञ्चुरी बैंक, सिटिजन्स बैंक, नबिल बैंक र प्राइम बैंकले छ/छ स्थानीय तहमा शाखा विस्तार गर्ने भएका छन् भने सानिमा बैंक, एनआईसी एसिया बैंक, एनसीसी बैंक, माछापूछ्रे बैंक र एभरेष्ट बैंकले पाँच/पाँच स्थानीय तहमा शाखा पुर्याउनेछन् । हिमालयन बैंकले भने सबैभन्दा थोरै तीन जिल्लामा मात्रै शाखा पुर्याउने भएको छ ।