आर्थिक वर्ष २०७३।७४को ११ महिनामा नेपालको व्यापार घाटा ३३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा आठ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १.६ प्रतिशतले मात्रै बढेको थियो ।
यो अवधिमा आठ खर्ब ९६ अर्ब ५७ करोड रुपैयाँको वस्तु आयात हुँदा जम्मा ६८ अर्ब ६२ करोड रुपैयाँको निर्यात भएको छ । जसअनुसार, निर्यात–आयात अनुपात ७.७ प्रतिशत कायम भएको छ । जबकि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात ३०.९ प्रतिशतले बढ्दा निर्यात जम्मा १०.४ प्रतिशतले बढेका कारण व्यापार घाटा उच्च रहन गएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात ०.९ प्रतिशतले घटेको थियो भने निर्यात २०.१ प्रतिशतले घटेको थियो ।
छिमेकी मुलुक भारततर्फको निर्यात १२ प्रतिशतले बढ्दा आयात ३९ प्रतिशतले बढेको छ । त्यस्तै, चीनतर्फको निर्यात ४.३ प्रतिशतले बढ्दा आयात १० प्रतिशतले बढेको छ । अन्य मुलुकतर्फ निर्यात ८.७ प्रतिशतले बढेको छ भने आयात २३.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउ, लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैचा, अलँैची, तयारी पोशाक, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।