Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनसेल कर प्रकरण : तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन

२०७४ असार २९ गते

व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले ठूला करदाता कार्यालयले यही असार १३ गते एनसेलको लाभकर रु ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो । 

समितिले एनसेल कतिपटक बिक्री वितरण र शेयर हस्तान्तरण भयो, के कति मूल्यमा कारोबार भयो र गरियो भन्नेबारेमा पनि सत्य तथ्य जानकारी उपलब्ध गराउन अर्थमन्त्रालय र ठूला करदाता कार्यालयलाई निर्देशन दिएको सभापति डोरप्रसाद उपाध्यायले बताए । सम्बद्ध पक्षका अनुसार एनसेल हालसम्म १२ पटक किनबेच भएको छ । यसअघि चर्चामा नै नआएको एनसेलको बिक्रीको लाभकर नर्वे्जियन कम्पनी टेलियाले मलेसियन कम्पनी एक्जियटालाई बिक्री गरेपछि मात्रै सतहमा आएको हो । 

लाभकर निर्धारण भए पनि नउठाउने र फेरि पनि छुट दिने प्रवृत्ति हावी हुन सक्ने भन्दै समितिले कर ऐनअनुसार ३५ दिनभित्रै रकम असुल गर्न निर्देश गरेको हो । समितिको बैठकमा सांसदहरुले कर निर्धारण गरेर पनि पुनः नउठ्ने र फेरि पनि लापर्बाही हुने हो कि भन्दै आशंका व्यक्त गर्नुभएको थियो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद विष्णु पौडेलले विक्रेता वा क्रेता कोबाट कर असुलउपर गर्ने हो सो प्रष्ट गरी तत्काल तोकिएको कर उठाउन सरकारले पहल गर्नुपर्ने बताए । 

सांसद रामहिर खतिवडा र धनराज गुरुङले संसद् र समितिको कार्यक्षेत्र नै मिचेर संसद्को अर्को समितिले लाभकर नतिरेको कम्पनीलाई चौथो पुस्ताको(फोर जी) प्रविधि सञ्चालन ल्याउन दिइएकामा आपत्ति प्रकट गरे । लेखा समितिले कर नतिर्दासम्म कुनै पनि नयाँ प्रविधि ल्याउन दिन नहुने भन्ने सम्बन्धमा गरेको निर्णयकै बर्खिलाप हुने गरी संसद्को अर्को समिति प्रयोग भएको र नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति दिएको सम्बन्धमा पनि छानबिन हुनुपर्ने उहाँहरुको धारणा थियो । समितिको कार्यक्षेत्र मिचिएकामा लेखा समितिले सभामुख ओनसरी घर्तीलाई समेत ध्यानाकर्षण गराएको छ । RSS
 

Ad