Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विपन्न बर्गलाई उद्यमी बनाउन राष्ट्र बैंकको विशेष योजना

२०७४ असार २८ गते

रुपा कोइराला । 
अति गरीब क्षेत्र तथा दुर्गम भेगका सर्वसाधारणलाई उद्यमी बनाउन नेपाल राष्ट्र बैंकले विशेष योजना बनाएको छ । राष्ट्र बैंकले अति गरी क्षेत्रहरुको पहिचान गरी त्यस क्षेत्रमा कर्जा प्रवाह गर्ने बैंकलाई एक प्रतिशत व्याजदरमा नै कर्जा दिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७४।७५को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो । 

प्रदेश नं. २ का पर्सा, बारा रौताहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका सीमावर्ती क्षेत्रहरु एवम् उच्च गरीबी रहेका प्रदेश नं. ६ का कालिकोट, हुम्ला, जुम्ला र मुगु तथा प्रदेश नं. ७ का बाजुरा, बझाङ, दार्चुला, डोटी, अछाम र बैतडी जिल्लाहरुका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यी क्षेत्रहरुमा कृषि तथा साना व्यवसायमा आधारित आयमूलक क्रियाकलापलाई प्रात्साहित गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकबाट एक प्रतिशत व्याजदरमा विशेष पुनरकर्जा सुविधा उपलब्ध गराउने बताइएको छ । यो व्यवस्था यसअघि नै कायम रहेकोमा आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने राष्ट्र बैंकले जनाएको छ । यो नीतिले विपन्न क्षेत्रलाई सर्वसाधारणलाई पनि उद्यमी बनाएर त्यहाँको जीवनस्तर उकास्न योगदान पुग्ने विश्वास राष्ट्र बैंकले लिएको छ ।

यसबाहेक, रुग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारी, दलित, जनजाती, उत्पीडित, महिला, फरक ढंगले सक्षम व्यक्ति, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्धारा सञ्चालित साना व्यवसायलाई प्रवद्र्धन गर्न र निर्यातलाई प्रोत्साहत गर्न राष्ट्र बैंकले एक प्रतिशत व्याजदरमा प्रदान गर्दै आएको पुनरकर्जाले पनि निरन्तरता पाउने भएको छ । त्यस्तै, विदेशी मुद्रामा निर्यात प्रात्साहित गर्न लाइबोरमा ०.२५ विन्दु थप गरी हुने व्याजदरमा दिइने पुनरकर्जा दरलाई पनि यथावथ राखिएको राष्ट्र बैंकले जनाएको छ ।

हाल नेपाल राष्ट्र बैंकले १० अर्ब ८४ करोड रुपैयाँको सीमाभित्र रहेर पुनरकर्जा सुविधा प्रदान गर्दै आएको छ । अब, जलविद्युत् लगायतका रणनीतिक महत्वका प्राथमिकता प्राप्त क्षेत्रमा पुनकर्जा उपलब्ध गराउन आर्थिक पुनरुद्धार कोषमा रहेको पाँच अर्ब रुपैयाँ उपयोग गर्न सकिने व्यवस्था मिलाउन लागेको राष्ट्र बैंकले जनाएको छ । यसबाहेक, आर्थिक वर्ष ०७३।७४को मुनाफाबाट समेत रकम छुट्याएर झन्डै २० अर्ब रुपैयाँको पुनरकर्जा कोष स्थापना गर्ने लक्ष्य राष्ट्र बैंकले लिएको छ । यस व्यवस्थाबाट जलविद्युत् लगायतका रणनीतिक महत्वका क्षेत्रमा सहुलियतपूर्ण बैंक कर्जा प्रवाह गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।  
 

Ad