रुपा कोइराला । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीति ल्याएपछि १५५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा गएका छन् । तीमध्ये, मर्जर तथा प्राप्तीबाट ११२ वटा संस्थाहरुको इजाजत खारेज भई ४३ संस्था कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७२।७३को मौद्रिक नीतिमार्फत मर्जर तथा एक्विजिसनको योजना अघि सारेको थियो ।
मर्जरको नीति आएपछि वाणिज्य बैंक एउटा मात्रै घटेको छ भने अधिकांश विकास बैंकहरु र केही फाइनान्स कम्पनीहरु विलय भएका छन् । राष्ट्र बैंकका अनुसार, असार २२ गतेसम्ममा नेपालमा क वर्गका बैंक अर्थात वाणिज्य बैंकहरु २८ वटा रहेका छन् भने ख वर्गका बैंक तथा विकास बैंकहरु ४४ वटामा कायम भएका छन् । त्यस्तै, ग वर्गका वित्त कम्पनीहरु ३० वटा र घ वर्गका लघुवित्त संस्थाहरु ५१ वटा गरी नेपालमा कुल १५३ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।
०७४ जेठ मसान्तसम्मको तथ्यांक हेर्दा, २८ वटा वाणिज्य बैंकहरुको मुलुकभर दुई हजार एक सय १६ वटा शाखा रहेका छन् । त्यस्तै, विकास बैंकहरुको आठ सय पाँच, वित्त कम्पनीहरुको एक सय ४८ र लघुवित्त संस्थाहरुको एक हजार आठ सय २५ गरी कुल शाखा संख्या चार हजार आठ सय ९४ वटा पुगेको छ । एटीएम संख्या भने दुई हजार ४७ पुगेको छ ।
जेठमा बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा झन्डै पाँच हजार आठ सय नौ जनाले सेवा प्राप्त गरेका छन् । अघिल्लो वर्षको जेठमा यस्तो संख्या छ हजार छ सय ४७ रहेको थियो । त्यस्तै, निक्षेप खाता संख्या एक करोड ८८ लाख र कर्जा संख्या ११ लाख ८३ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ । यो ०७३ चैत्र मसान्तसम्मको तथ्यांक हो ।
बैंकिङ प्रविधिको प्रयोग न्यून
बैंकबाट सेवा लिनेको संख्या झन्डै दुई करोड पुग्न लागेपनि बैंकिङ प्रविधिको प्रयोग भने निकै कमले गर्ने गरेको पाइएको छ । बैंकहरुले जारी गर्ने कार्डहरुमध्ये, सबैभन्दा धेरै डेबिट कार्डको प्रयोग हुने गरेको पाइएको छ । हालसम्म ५१ लाख आठ हजार वटा डेबिट कार्ड जारी गरिएको राष्ट्र बैंकको तथ्यांक छ । क्रेडिट कार्ड भने ६४ हजार वटा मात्रै जारी भएको छ । त्यस्तै, मोबाइल बैंकिङका ग्राहकहरुको संख्या २४ लाख २७ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सात लाख ३५ हजार पुगेको छ ।