रोयल आचार्य – लामो समय देखी समस्याको रुपमा रहेको ५ सय र १ हजार दरका भारु नोट सटहीको समस्या समाधान हुने उप–प्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताएका छन् । बुधवार बसेको व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै उप–प्रधान एवं पराराष्ट्रमन्त्री महराले भारु सटहीको समस्या चाडै समाधान हुने बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बारेमा संसद बैंठकमा जानकारी गराउँदै परराष्ट्रमन्त्री महराले भने, ‘लामो समयदेखी समस्याको रुपमा रहेको भारु सटही प्रधानमन्त्रीको भारत भ्रमणसँगै समाधान हुनेछ ।’ भारत सरकारले ५ सय र १ हजार दरका भारु नोट प्रतिबन्ध लगाएसँगै समस्याको रुपमा देखा परेको भारु सटहीको बिषय सरकारले समाधान गरेरै छाड्ने मन्त्री महराको भनाई थियो ।
प्रतिबन्धित भारु नोट सटहीबारे नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकसँग विभिन्न समयमा छलफल गरेको भए पनि समस्या समाधान हुन सकेको छैन । भारतले ठूला दरका भारुमा लामो समयदेखि प्रतिबन्ध लगाएसँगै नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म भारु सटही गरिदिन पटक–पटक पहल गर्दै आएको थियो । तर, भारतीय पक्षले प्रतिव्यक्ति ४५ सय भारुमात्रै साट्न प्रस्ताव गरेपछि राष्ट्र बैंकले सो प्रस्ताव अस्वीकार गरिसकेको छ । भारतले आफ्ना नागरिकलाई ४५ सय भारुसम्ममात्रै सटही व्यवस्था गरेको जिकिर गर्दै नेपाललाई पनि ४५ सय भारु सटहीको व्यवस्था स्वीकार गर्न प्रस्ताव गरेको थियोे ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था तथा मनी चेन्जर कम्पनीहरूसँग ५ सय र हजार दरका भारु करीब ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । त्यसभन्दा बाहिर सर्वसाधारणसँग पनि ठूलो परिमाणमा भारु रहेको बताइएको छ ।