हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
कुमारी बैंकले चार वित्तीय संस्था गाभ्यो
कुमारी बैंक लिमिटेडले चार वटा वित्तीय संस्थालाई एकैसाथ एक्वायर गरेर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्यो । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई आफुमा गाभेर ‘कुमारी बैंक लिमिटेड’को नामबाटै एकीकृत कारोबार सुरु गरेको हो । गत जेठ १७ गते नेपाल राष्ट्र बैंकबाट एक्विजिसनका लागि अन्तिम स्वीकृति पाएको बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १ गते स्वीकृति पाएको थियो । विलय पुरा भए पछि कुमारी बैंकको दरबारमार्गमा रहेको स्थानमा नै मुख्य कार्यालय रहने बताइएको छ । बैंकले हालै जारी गरेको ५० प्रतिशत हकप्रद सेयर, गत आर्थिक वर्षको बोनस सेयर र चार वित्तीय संस्थासँगको एक्विजिसनपछि कुमारी बैंकको चुक्ता पूँजी पाँच अर्ब ९७ करोड रुपैंया पुगेको छ । गत चैत नौ गते सम्पन्न साधारण सभाले उल्लेखित चुक्ता पूँजी तयार गरी एक अर्ब १९ करोड रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । उक्त हकप्रद निष्काशन पश्श्चात बैंकको चुक्ता पूँजी सात अर्ब १६ करोड रुपैंया नाघ्ने छ ।
मौद्रिक नीतिका लागि धितोपत्र बोर्डको सुझाव
नेपाल धितोपत्र बोर्डले मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष लिखित सुझाव पेश गर्यो । बोर्डले धितोपत्र बजारमा सार्वजनिक निष्काशन गरेका वास्तविक क्षेत्रका उत्पादनमूलक पब्लिक कम्पनीहरुलाई समेत प्राथमिकता क्षेत्रमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ । वित्तीय क्षेत्रको गतिशिलता एवं विश्वसनीयता अभिबृद्धि गर्न यो आवश्यक रहेको बोर्डको तर्क छ । नेपालको सेयर बजारलाई पनि अन्तर्राष्ट्रिय सिद्धान्तअनुरुप सुधार तथा विकास गर्नुपर्ने,बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरु एक आपसमा मर्जर हुंदा कायम गरिने स्वाप अनुपात धितोपत्र बजारका लगानीकर्ताहरुको हितसंग सम्बन्धित विषय भएकोले यस्तो विषयमा धितोपत्र बजारको अवस्था हेरी नेपाल धितोपत्र बोर्डसंगको समन्वयमा गर्न उपयुक्त हुने लगायतका सुझाव बोर्डले दिएको छ ।
दुई फाइनान्स कम्पनी समस्याग्रस्तबाट मुक्त
दुई वटा फाइनान्स कम्पनी समस्याग्रस्तबाट फुकुवा भए । जनरल फाइनान्स लिमिटेड, चाबहिल र अरुण फाइनान्स लिमिटेड, धरानलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्तबाट फुकुवा गरेको हो । जनरल फाइनान्सलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख. बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएकोमा सञ्चालक समितिको मिति २०७३।८।२७ मा बसेको ५३ औं बैठकको निर्णयले समस्याग्रस्तबाट फुकुवा गरी नियमीत रुपमा कारोवार गर्न स्वीकृती प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, अरुण फाइनान्सलाई पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख. बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएकोमा सञ्चालक समितिको मिति २०७३।१०।१२ मा बसेको ६६ औं बैठकको निर्णयले समस्याग्रस्तबाट फुकुवा गरी नियमित रुपमा कारोवार गर्न स्वीकृति प्रदान गरेको राष्ट्र बैंकले जनाएको छ ।
लगानी प्रस्ताव आह्वान
नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ३४ करोड ७४ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्नका लागि क, ख र ग वर्गका बैंकहरुसँग लगानी प्रस्ताव माग गर्यो । राष्ट्र बैंकले क वर्गका बैंकहरुको लागि २७ करोड ८० लाख, ख वर्गका बैंकहरुको लागि पाँच करोड २१ लाख र बाँकी एक करोड ७३ लाख ग वर्गका बैंकहरुको लागि छुट्याएको छ । राष्ट्र बैंकले आउँदो साउन १ गतेदेखि ०७३ असार मसान्तसम्मका लागि उक्त रकम लगानी गर्न चाहेको छ । इच्छुक तथा राष्ट्र बैंकले तोकेको शर्तहरु पूरा गरेका बैंकहरुले आपूmले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई यस बैंकले तोकेकोशिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी असार १८ गते अपरान्ह ३.०० बजे भित्र राष्ट्र बैंक अन्तर्गत वित्त व्यवस्थापन विभागमा पेश गर्नुपर्नेछ ।
सेयर बजारमा भ्याट विवाद
ब्रोकरको कमिसनमा पनि मूल्य अभिबृद्धि कर (भ्याट) लगाउन सरकारले पत्र काटेपछि त्यसको बिरोधमा सेयर ब्रोकरहरुले विहीबारदेखि अनिश्चितकालका लागि सेयर कारोबार बन्द गराए । यता, धितोपत्र बोर्डले भने तत्काल सेयर कारोबार सुरु गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।
अन्य
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय (त्रिविवि)विच पारस्परिक हित प्रवद्र्धनका निम्ति सहकार्य सम्वन्धी समझदारी भयो ।
हिमालयन बैक लिमिटेडले ऐतिहासिक एवं धार्मिक संपदाहरुको सुरक्षामा सहयोग पुयाृउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं. ३० अवस्थित मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा ८ थान उच्च क्षमतायुक्त सि.सि टी.भी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण आज एक समारोहका वीच हस्तान्तरण गर्यो ।
नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल नियुक्त भए