के तपाईले दश लाख भन्दा माथिको कुनै पनि रकम नगदमा गर्दै आउनु भउको छ ? त्यसो हो भने अब तपाईले बिचार गर्नुपर्ने भएको छ । तपाईले त्यसरी भुक्तानी गरेको रकम अनौपचारिक माध्यमाबाट गइरहेको छ । तर अब भने तपाईंका लागि यो कार्यमा रोक लगाइएको छ । दश लाख वा सो भन्दा माथिको रकम तपाईले कुनैपनि संस्था वा फर्मलाई भुक्तानी गर्नुपर्दा बैंकिङ च्यानल मार्फत अनिवार्य रुपमा एकाउन्ट पेयी चेक काट्नुपर्ने छ । यो नीति आगामी साउन १ गतेदेखि लागु गरिएको छ ।
जस अनुसार अब कोही कसैले पनि १० लाख भन्दा माथिको कारोबार नगदमा गर्न पाउने छैन । अर्थतन्त्रलाई औपचारिक माध्यमबाट परिचालन गर्न नेपाल राष्ट्र बैंकले यो नीति ल्याएको हो । अनौपचारिक अर्थतन्त्र बढेकाले त्यसलाई औपचारिक माध्यममा ल्याउन बजेटमा पनि उल्लेख गरिएको थियो । आगामी साउन १ गतेदेखि १० लाख माथीको नगद कारोबारमा रोक लगाइएको हो । नेपाल राष्ट्र बैंकले सोको लागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरी १० लाख वा १० लाख भन्दा माथिको रकम भुक्तानीमा अनिवार्य एकाउन्ट पेय चेकको प्रयोग गर्न निर्देशन दिएको छ । कुनै निक्षेपकर्ता वा बचतकर्ताले खास कारण उल्लेख गरेर लिखित निवेदन दिएमा भने बैंक वित्त कम्पनी आफैले निर्णय गर्न सक्नेछन् । तर त्यस्तो हकमा लिखित पत्र र कारण भने अनिवार्य खुलाइनुपर्ने छ ।
सो को जानकारी बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण बिभागमा गराउनु पर्ने छ । यसबारे राष्ट्र बैंकले अनुगमन गर्ने छ । अब कुनै पनि फर्म, कम्पनी, संस्था वा कुनैपनि कार्यालयको नाममा भुक्तानी गर्दा एकाउन्ट चेकमार्फत मात्रै भूक्तानी गर्न पाइने छ । विभिन्न कम्पनी वा दर्ता भएका व्यबसायीहरुले नगदमा कारोबार गर्दा उक्त रकम औपचारिक माध्यममा आउन सकेको थिएन । नेपाल राष्ट्र बेंकको यो निर्णयपछि सबै क्षेत्रको रकम औपचारिक माध्यममा आउने छ । बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्नका लागि यो नीतिले सहयोग गर्ने अपेक्षा गरिएको छ ।