अबको चार दिनभित्रमा १० वित्तीय संस्था गाभिएर तीन वटामा झर्ने भएका छन् । पुँजीवृद्धिका लागि नेपाल राष्ट्र बैंकले दिएको समयावधि सकिन लाग्दा बैंकहरुले मर्जर तथा एक्विजिसनलाई अन्तिम रुप दिने कार्यलाई तीव्र पारेका हुन् ।
कुमारी बैंक लिमिटेडले चार वटा वित्तीय संस्थालाई एकैसाथ एक्वायर गरेर भोलीदेखि एकीकृत कारोबार सुरु गर्दैछ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई आफुमा गाभेर ‘कुमारी बैंक लिमिटेड’को नामबाटै एकीकृत कारोबार सुरु गर्न लागेको हो । गत जेठ १७ गते नेपाल राष्ट्र बैंकबाट एक्विजिसनका लागि अन्तिम स्वीकृति पाएको बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १ गते स्वीकृति पाएको थियो । विलय पुरा भए पछि कुमारी बैंकको दरबारमार्गमा रहेको स्थानमा नै मुख्य कार्यालय रहने बताइएको छ । बैंकले हालै जारी गरेको ५० प्रतिशत हकप्रद सेयर, गत आर्थिक वर्षको बोनस सेयर र चार वित्तीय संस्थासँगको एक्विजिसनपछि कुमारी बैंकको चुक्ता पूँजी पाँच अर्ब ९७ करोड रुपैंया पुगेको छ । गत चैत नौ गते सम्पन्न साधारण सभाले उल्लेखित चुक्ता पूँजी तयार गरी एक अर्ब १९ करोड रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । उक्त हकप्रद निष्काशन पश्श्चात बैंकको चुक्ता पूँजी सात अर्ब १६ करोड रुपैंया नाघ्ने छ ।
राष्ट्रिय स्तरका दुई विकास बैंकहरु यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक एकआपसमा गाभिएर आगामी आइतबारदेखि एकीकृत कारोबार थाल्दैछन् । मर्जरपछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको चुक्तापुँजी दुई अर्ब ६३ करोड ४१ लाख रुपैयाँ पुग्ने छ भने निक्षेप २३ अर्ब ८४ करोड रुपैयाँ र कर्जा लगानी १९ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि महालक्ष्मी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिने बैंकको शाखा संख्या ६५ तथा ग्राहक संख्या तीन लाख ४५ हजार पुग्नेछ । यससँगै, महालक्ष्मी विकास बैंक देशकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा स्थापित हुने बताइएको छ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा महालक्ष्मीबाट चार र यतीबाट चार गरी कुल आठ सदस्य रहने व्यवस्था गरिएको छ । सम्पत्ति दायित्व मूल्यांकनपश्चात् आउने प्रतिवेदनलाई आधार बनाई सेयर स्वाप अनुपात निर्धारण गर्ने सहमति भएको बताइएको छ ।
त्यस्तै, सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेडलाई गाभेर आइतबारदेखि नै एकीकृत कारोबार सुरु गर्दैछ । एक्विजिसनपछि बैंकको नाम सिभिल बैंक नै रहने र हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ । प्राप्तिपछि सिभिल बैंक लिमिटेडको चुक्तापुँजी पाँच अर्ब पाँच करोड रुपैयाँ पुग्ने छ । उक्त दुवै संस्थाको प्राप्ति र आ.व.२०७२।७३को मुनाफाबाट बोनस सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्तापुँजीको २०५ हकप्रद सेयर जारी गर्ने योजना बैंकको छ । राष्ट्र बैंकको मौद्रिक नीति तथा परिपत्र बमोजिम २०७४ असार मसान्तभित्र न्यूनतम चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुर्याउन बैंकले अन्य कुनै संस्थासँग एक्विजिसन वा मर्जरमा जाने योजना बनाएको छ । एक्विजिसनपछि बन्ने बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । यी तीन संस्थाहरुले हालसम्ममा ३३ अर्ब ६३ करोड निक्षेप संकलन गरी ३१ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् ।