सोमबार (असार ५ गते)देखि दुई कम्पनीको हकप्रद सेयर निष्काशन सुरु भएको छ । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेड र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ७७ लाख रुपैयाँ बराबरको एक लाख ७७ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेका हुन् ।
एनबि इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । साउन ९ गतेसम्म हकप्रद खुला रहनेछ । एनबिले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा एनबिका सम्पूर्ण शाखाहरुबाट हकप्रद फारम लिन सक्नेछन् । जेठ ३ गतेसम्म कायम सेयरधनीले सो हकप्रद भर्न पाउनेछन् । हाल एनबि इन्स्योरेन्सको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । ०७५ असार मसान्तसम्ममा कम्पनीले एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।
त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । उक्त हकप्रद निष्काशन साउन ८ गते बन्द हुनेछ । मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु क्यापिटल लिमिटेड कमलादी, मिर्मिरे फाइक्रोफाइन्सको डेभलपमेन्ट बैंकको सबै कार्यालय र प्रभु बैंक लिमिटेडका विराटनगर, विरगन्ज, सुर्खेत, वुटवल, धनगढी र नेपालगञ्जबाट उक्त हकप्रदका लागि दिन सकिने छ । हाल मिर्मिरे माइक्रोफाइनान्सको चुक्तापुँजी तीन करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी चार करोड ५० लाख रुपैयाँ पुग्ने छ ।