Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, यो साता चर्चामा रहेका बैंकिङ खबरहरु

२०७४ असार २ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

११ वित्तीय संस्थालाई मर्जर स्वीकृति
११ वटा वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनमा जान अनुमति पाए । नेपाल राष्ट्र बैंकको मंगलबार विहान बसेको सञ्चालक समितिको बैठकले नौ वित्तीय संस्थालाई गाभिन अन्तिम स्वीकृति र दुईलाई सैद्धान्तिक स्वीकृति दिएको हो । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिइएको छ । त्यस्तै, सिभिल बैंक तथा युनिक फाइनान्स र हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीचको एक्विजिसन, यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक बीचको मर्जरका साथै भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बनी फाइनान्सबीचको मर्जरलाई समेत राष्ट्र बैंकले अन्ति स्वीकृति दिएको बताइएको छ । अन्तिम स्वीकृति पाएका संस्थाहरु असार महिनाभित्रै एकीकृत कारोबार थाल्ने योजनामा छन् । यसबाहेक, राष्ट्र बैंकले देवः विकास बैंकलाई साझा विकास बैंक प्राप्ती गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

काँचो चाँदी खरिदमा रोक
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै सर्वसाधारणले काँचो चाँदी खरिद गर्न नपाउने व्यवस्था गर्यो । सर्वसाधारणले आवश्यक परेका चाँदीका भाँडाकुँडा अथवा गहना भने किन्न पाउनेछन् । अब चाँदीको गरगहना तथा भाडाकुडा बनाउने ब्यापारीहरुले बैंकबाट चाँदी पनि किन्न पाउने भएका छन् । ब्यापारीहरुले बैंकबाट प्रतिमहिना एक केजीका दरले चाँदी किन्न पाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले व्यापारीहरुलाई आफैँ चाँदी आयात गर्न भने छुट दिएको छ । निर्देशनमार्फत् राष्ट्र बैंकले बैंकहरुले आयात गर्ने चाँदीको मूल्य निर्धारणको मापदण्ड तोकेको छ । ‘बाणिज्य बैंकहरुले साना सुनचाँदी व्यवसायीलाई मात्र विक्री गर्ने प्रयोजनका लागि खुला बजार आयात इजाजत व्यवस्था अनुरुप बैंक ग्यारेण्टी, प्रतीतपत्र, ‘स्ट्याण्ड बाइ’ प्रतीतपत्र र ड्राफ्टरटि.टि.को माध्यमबाट प्रचलित व्यवस्था बमोजिम चाँदी आयात गर्न सक्नेछन्, यसरी आयात गरिएको चाँदीको मूल्य निर्धारण गर्दा, अन्तर्रा्ष्ट्रिय मूल्य र आयात गर्दा लाग्ने लागत समेतलाई दृष्टिगत गरी प्रतिष्पर्धी मूल्य निर्धारण गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

बीमा कम्पनीहरुको अनुगमन सुरु
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरु अनुगमन थाल्यो । बीमा ऐनमा कम्पनीहरूको निरक्षण गर्नुपर्ने व्यवस्था भएबमोजिम समितिले कम्पनीहरुको समग्र पक्षको निरीक्षण गर्न सुरु गरेको हो । यसअघि उजुरीका आधारमा मात्रै निरीक्षण गर्दै आएको समितिले यसपटक स्थलगन निरीक्षण नै सुरु गरेको छ । पहिलो चरणमा निजीर स्तरका निर्जिवन बीमा कम्पनीहरु युनाइटेड इन्स्योरेन्स लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबाट अनुगमन सुरु गरेको बीमा समितिले जानकारी दिएको छ । बीमा कम्पनीहरूले निर्दे्शिकाअनुसार काम गरे नगरेको, ऐनको उचित पालना गरे नगरेको, संस्थागत सुशासन कार्यान्वयन भए नभएको, दाबी भुक्तानीको प्रक्रिया, अन्डर राइटिङको अवस्थालगायतको निरीक्षण गरिने बीमा समितिले जनाएको छ । 

ओम र मनास्लुको एकीकृत कारोबार
ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एक आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबार थाले । पोखरामा मुख्य कार्यालय रहेको राष्ट्रिय स्तरको ओम र गोरखामा केन्द्रीय कार्यालय रहेको तीन जिल्ले मनास्लुले एकआपसमा गाभिएर ओम डेभलपमेन्ट बैंकको नामबाट कारोबार सुरु गरेका हुन् । मर्जर पश्चात बैंकको चूक्तापूजी एक अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

दुई विकास बैंक प्राप्तीपछि सेञ्चुरी बैंकको एकीकृत कारोबार
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गर्यो । एकीकृत कारोबार पश्चात् बैंकको चुक्तापुँजी चार अर्ब ७१ करोड रुपैयाँ, निक्षेप ३८ अर्ब ५० करोड रुपैयाँ, कर्जा ३५ अर्ब रुपैयाँ तथा शाखा संख्या ५३ वटा पुगेको छ । 

बैंकिङ मुभमेन्ट
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त भए । कम्पनीको १८२औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । 
अरुण फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा विष्णु पाण्डे नियुक्त भए । कम्पनीको गत जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तीब्र आर्थिक वृद्धि गर्नेमा नेपाल तेस्रो
२०१७ मा तीव्र गतिमा आर्थिक वृद्धि गर्ने मुलुकहरुको सूचिमा नेपाल तेस्रो स्थानमा पर्ने प्रक्षेपण गरियो । बिश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोसपेक्ट्स’ रिर्पोटले यस्तो प्रक्षेपण गरेको हो । बिश्व बैंकले नेपालले सन् २०१७ मा ७.५ प्रतिशत आर्थिक बृद्धि गर्ने प्रक्षेपण गरेको छ । नेपालका दुई छिमेकी मुलुकहरु भारत र चीन भने क्रमशः चौथो र १६औँ स्थानमा पर्ने प्रक्षेपण गरिएको छ । यी दुई मुलुकको आर्थिक वृद्धि क्रमशः ७.२ प्रतिशत र ६.५ प्रतिशत रहने अनुमान गरिएको हो । यो सूचिको पहिलो स्थानमा भने इथोपिया रहेको छ । यो मुलुकको २०१७ मा ८.३ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने रिपोर्टले देखाएको छ । त्यस्तै, दोस्रो स्थानमा उजबेकिस्तान रहेको छ, जसकाृ आर्थिक वृद्धि ७.६ प्रतिशत रहने अनुमान छ । बिश्वको जीडीपी बृद्धिदर भने २.७ प्रतिशत मात्र हुने विश्व बैंकको अनुमान छ । बिश्व ब्यापार ४ प्रतिशतले बढ्ने अनुमान छ । सन् २०१६ मा बिश्व ब्यापार २.४ प्रतिशत थियो ।

करसम्बन्धी ऐन संशोधन गर्न निर्देशन
व्यवस्थापिका–संसद्, अर्थ समितिले कर फछ्र्योट आयोग ऐन, २०३३ लाई समयानुकूल बनाउनका लागि तत्काल संशोधन प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दियो । समितिको बिहीवारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर छुट र असुलीमा भएको अनियमितता सम्बन्धमा भइरहेको अनुसन्धानबाट देखिएका दोषीलाई कडा कारबाही गर्न र राजस्व छली भएको रकम तत्काल असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको सभापति प्रकाश ज्वालाले जानकारी दिए । समितिका सभापति ज्वालाले नेपालको कर क्षमता पत्ता लगाउन, कर प्रणालीमा रहेको कर निर्धारण तथा कर असुली, कर फछ्र्योटलाई समयानुकूल सुधार गर्न यथाशीघ्र काम अगाडि बढाउन समेत निर्देशन दिइएको बताए । यस्तै आन्तरिक राजस्व विभागबाट दिने गरिएको राजस्व मिनाहाको कामलाई स्थगन गरी राजस्व उठाउन बाँकी रहेको रकम तत्काल असुल गर्न समेत निर्देशन दिइएको छ । राजस्व बक्यौता मिनाहा वा कर फछ्र्योटसम्बन्धी स्पष्ट मापदण्ड र निर्दे्शिका तयार गरी अर्थ समितिमा पठाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

अमेरिकामा व्याजदर बढ्यो
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्बले पुनः व्याजदर बढायो । यसै साता बसेको फेडरल रिजर्भको दुई दिने वैठकले शुन्य दशमलब २५ प्रतिशतले व्याजदर बढाउने निर्णय गरेको हो । तीन महिनाअघि मात्रै फेडरल रिजर्भले ०.२५ प्रतिशतका दरले व्याजदर बढाएर एक प्रतिशत पुर्याएको थियो । अब, अमेरिकोको व्याजदर १.२५ प्रतिशत पुगेको छ । फेडरलले यसै वर्ष अझै एक पटक ब्याज दर वृद्धि गर्न सक्ने बताइएको छ । सन् २००८ मा अमेरिकामा ब्याजदर निकै उच्चतहमा रहेको थियो । तीब्र गतिले बढेको महंगीको दवाव तथा उपभोक्ता सूचक (कन्जुमर स्पेंडीइंग) औसत देखिएकोले ब्याज दरमा वृद्धि गरिएको फेडरलले जानकारी दिएको छ । अहिले बैंकको पुरा ध्यान मुलुकको वासलातलाई ट्रिम गर्नुमा रहेको बताइएको छ ।

सेयर निष्काशन

  • स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले यसै साताको विहीबारदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गर्यो । साउन ४ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 
  • विहीबारदेखि नै एनआईसी एशिया बैंकले सर्वसाधारण समूहतर्फको दुई लाख ९८ हजार पाँच सय ३६ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्यो । असार ८ गतेसम्म बोलपत्र पेश गर्न पाइने सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । 
  • हिमालयन पावर पार्टनरले पनि विहीबारदेखि नै २१ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन सुरु गर्यो । असार ५ गतेसम्म निष्काशन खुला रहने सेयरमा कम्तीमा ५० कित्तादेखि बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । 
  • त्यस्तै, बुधबारदेखि प्रभु इन्स्योरेन्स लिमिटेडले ४८ हजार एक सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण सेयर लिलामीमा निकाल्यो । कम्पनीले असार ७ गतेसम्म लिलामीमा सेयर विक्री खुला गरेको हो ।

ग्लोबल आईएमईबाट निःशूल्क आस्वा
ग्लोबल आइएमई बैंक लिमिटेडले बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशूल्क सेवा दिने निर्णय गर्यो । जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क र सहज रुपमा बैंकमा रहेको मौज्दात रकम रोक्का गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्दा ग्राहकले सेयरमा लगानी गर्न चाहेको कित्ता बराबरको रकम ग्राहकको खातामा नै रोक्का हुनेछ भने उक्त रकमको ब्याज समेत ग्राहकले प्राप्त गर्नेछन् । यो सेवा बैंकका सवै ९५ शाखाहरुबाट उपलब्ध हुनेछ । साथै ग्लोबल आईएमई बैंकको मोबाईल बैकिङ्ग एप “ग्लोबल स्मार्ट” तथा इन्टरनेट बैंकिङ्ग सुविधा “ग्लोबल अनलाईन” सेवाबाट पनि ग्राहकहरुले आईपिओ तथा एफपिओको लागि आवेदन दिन सक्नेछन्  । 

शाखा विस्तार

  • एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९औं शाखा ललितपुरकोे जावलाखेलमा सोमबार (जेठ २९ गते) देखि संचालनमा ल्यायो । 
  • गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकैदिन दुई भानु न. पा. – ६, तुरतुरे, तनहुँ र धुनिबेशी न.पा. – ६, धार्के, धादिङ्गमा नयाँ शाखा कार्यालयहरुको उद्घाटन गरी कारोबार सुरु गर्यो ।

अन्य, 

  • धरान स्थित निर्धन उत्थान बैक लिमिटेड शाखा कार्यालय पाचंकन्याले मृतक परिवारका सदस्यलाई बीमा रमक प्रदान गर्यो । 
  • नेपाल राष्ट्र बैंकले गत जेठ १९ गते निष्काशन गरेको नागरिक बचतपत्रको प्रमाणपत्र वितरण शुक्रबारदेखि सुरु गर्यो ।
  • हिमालयन बैंक लिमिटेडले बुढानीलकण्ठ–६, टुसालस्थित “नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ” का बालबालिकाहरुलाई सहयोग प्रदान गर्यो । 
  • यती डेभलपमेण्ट बैंकले “जोडौं एक नाता खोली बैंकमा खाता” भन्ने मुल नारा सहित सोमबार (जेठ २९ गते) गते हेटौंडाको मकवानपुर गढी ३ स्थित भानु माध्यामिक बिद्यालयका विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गर्यो ।
  • नेपालको नम्बर वान रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव भव्यताका साथ मनायो । 
  • गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई दिने अभिमुखिकरण तालिम, समिक्षा र आर्थिक वर्ष २०७४।७५ को लागि बार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गर्यो । 
  • ग्लोबल आइएमई बैंकले युएई एक्सचेन्जसँगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलायो ।
  • प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीमा नयाँ अभिकर्ताहरुलाई अभिकर्ता आधारभुत तालिम प्रदान गर्यो ।
Ad