रुपा कोइराला । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो । बुटवलमा केन्द्रीय कार्यालय रहेको यो बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल रहेका छन् । आठ सदस्यीय सञ्चालक समिति रहेको यो बैंकको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् भने अन्य सञ्चालकहरुमा भुवन भण्डारी, कृष्ण प्रसाद भण्डारी, डा. तारा प्रसाद उपाध्याय, मेघराज कक्षपति, मोहन चापागाईँ, डिल्लीराज भुषाल र गोपाल प्रसाद पाण्डे रहेका छन् ।
चुक्तापुँजीमा अगाडी
नेपाल राष्ट्र बैंकले दुई वर्षअघिको मौद्रिक नीतिमार्फत १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकलाई एक अर्ब २० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । गत चैत्र मसान्तसम्मको विवरण हेर्दा शाइन रेसुंगाले एक अर्ब १० करोड २८ लाख ९२ हजार रुपैयाँ चुक्तापुँजी पुर्याइसकेको छ । चुक्तापुँजी पुर्याउन नसकेर थुप्रै क्षेत्रीय स्तरका बैंकहरुले ठूला बैंकहरुमा विलय हुने सम्झौता गरिरहँदा शाइन रेसुंगाले भने आफैँ चुक्तापुँजी पुर्याएर आफ्नो अस्थित्व कायम राख्न लागेको हो । प्युठानको बिजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी विकास बैंकलाई गाभेर र गत आर्थिक वर्षको मुनाफाबाट २७ प्रतिशत बोनस सेयर जारी गरेर बैंकले सो चुक्तापुँजी पुर्याएको हो । अब, चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर बैंकले सहजै एक अर्ब २० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन सक्नेछ ।
मुनाफाबाट राष्ट्रिय स्तरका विकास बैंकलाई पछि पार्दै
क्षेत्रीय स्तरको भएर पनि मुनाफा आर्जनमा शाइन रेसुंगाले राष्ट्रिय स्तरका विकास बैंकहरुलाई पछि पारेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ९० लाख पाँच हजार छ सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यससँगै तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै कमाउने विकास बैंकहरुमध्ये शाइन रेसुंगा पाचौँ स्थानमा छ । गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, टुरिजम डेभलपमेन्ट बैंक, देवः विकास बैंक, एनआईसी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक जस्ता अब्बल मानिएका राष्ट्रिय स्तरका विकास बैंकको भन्दा बढी नाफा आर्जन गरेर शाइन रेसुंगाले आफू अब्बल रहेको परिचय दिएको छ ।
प्रतिसेयर आम्दानीमा सन्तुलन
चुक्तापुँजी वृद्धिको नीतिका कारण थुप्रै बैंकहरुले आफ्नो प्रतिसेयर आम्दानीलाई सम्हाल्न सकेका छैनन् । केही सीमित बैंकहरुबाहेक, पुँजीवृद्धिको दौडमा लागेका बैंकहरुको प्रतिसेयर आम्दानी खस्किँदो क्रममा रहेको छ । यद्यपि, चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा चुक्तापुँजीमा ३७ प्रतिशत वृद्धि हासिल गरिसकेको शाइन रेसुंगाले प्रतिसेयर आम्दानी सन्तुलनमा राखेको छ । तेस्रो त्रैमासको विवरणअनुसार, शाइन रेसुंगाको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
बैंकको अन्य वित्तीय अवस्था
तेस्रो त्रैमासिक विवरणअनुसार, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको जगेडा कोषमा भने ५१ प्रतिशतको सुधार भई ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ । बैंकले एक करोड ७१ लाख लाख रुपैयाँ प्रोभिजनमा राखेको छ भने जोखिम कोषबाट ४३ लाख ४२ हजार रुपैयाँ फिर्ता गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ एक सय ४२ रुपैयाँ सात पैसा, पूँजीकोष लागत पाँच दशमलव ४८ प्रतिशत, मूल्य आम्दानी अनुपात १३ दशमलव ६२ गुणा, निष्कृय कर्जा शून्य दशमलव २६ प्रतिशत र ब्याज स्प्रेडदर ६ दशमलव ७ प्रतिशत रहेको छ ।