उनी अर्थात सन्तोष मल्ल । पछिल्लो समय बुटवलमा नक्कली नोट छाप्ने व्यक्ति । ‘बुटवलका ३१ रत्नहरु’ नामको प्रोफाइल पुस्तक समेत उनले प्रकाशन गरेका छन् । उनी सामान्य व्यक्ति होइनन्, स्थानीय तहमा सबैले चिन्ने व्यक्ति बनिसकेका थिए । अधिकांश सार्वजनिक कार्यक्रममा उनी उपस्थित पनि हुन्थे, तर विगत एकमहिनादेखि उनी करिव करिव हराएका थिए । उनी अर्फान हेल्पिङ हेन्ड नामक संस्थामा पनि आबद्ध छन् ।
वाग्लुङमा जन्मिएर रुपन्देही कञ्चन गाउँपालिका ६ मा बसोबास गर्दै आएका उनी अध्ययनका शिलशिलामा बुटवल ११ बुद्धनगरमा बस्दै आएका थिए । सीसीटी कलेजमा इन्जिनियरिङ पढ्ने उनले धेरै पैसा कमाउने महत्वकाँक्षाले आफै पैसा छाप्ने योजना बनाए । अर्फान हेल्पिङ हेन्डको कार्यालय र बस्दै आएको डेरामा उनले नक्कली पैसाको काम गर्न थाले । क्याननको प्रिन्ट मेसिनमा उनले पैसा स्काइनिङ गरेर पैसा छाप्न थालेको प्रहरीको भनाई छ । सक्कली पैसा स्क्यान गर्ने र त्यसलाई फरक फरक कागजमा प्रिन्ट गरेर पैसा बनाउने गरेको बताइएको छ । बैंकले दुइपटक सम्म उनको नक्कली पैसा चिन्न सकेन । तर अन्तत लाखसम्मकै गड्डी बोर बैंक गएपछि उनी पक्राउ परे । जेठ २२ गते १ लाख रुपैयाँमा उनले बैंकलाई फसाउन खोजेका थिए । उनले बैंकमा चेक साटेर हजार–हजारका नोटलिएपछि १ लाख रुपैयाँ झोलामा हाले । आफ्नो नक्कली १ लाखको गड्डी झिकेर ५ सयको साट्न लगाए । बैंकले ५ सयका नोट पनि दियो । पछि बैंकले नक्कली नोट पत्ता लगाएपछि उनको खोजि भयो र उनी यसपटक पक्राउ परे ।

प्रहरीले उनीबाट १ हजार रुपैयाँ ३ सय ५९ थान, ५ सय रुपैयाँ १ सय थान, १ सय रुपैयाँ ५ थान, फ्रि इन्क प्रिन्ट मेसिन, तथा पैसा छाप्न प्रयोग गर्ने कागजहरु बरामद गरेको छ । केही समय अघि पोखरामा नक्कली नोट भेटिएको थियो भने त्यसपछि तनहुमा पनि भेटिएको थियो । ती ठाउँमा उनको हात थियो वा थिएन प्रहरीले अध्ययन सुरु गरेको छ । बजारमा छिट्टै पैसा कमाउने निहँुमा यस्ता अपराध जन्य कार्य गर्ने व्यक्तिहरु कति छन् ? ती व्यक्तिहरु कुनै पनि दिन प्रहरीको नियन्त्रणमा आएरै छाड्ने यो घटनाले प्रमाणीत गरेको छ ।