Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

असारको पहिलो साता तीन कम्पनीको हकप्रद सेयर खुल्दै

२०७४ जेष्ठ २० गते

असारको पहिलो साता तीन कम्पनीको हकप्रद सेयर निष्काशन खुला हुने भएको छ । स्वराजेगार लघुवित्त विकास बैंक लिमिटेड, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले असारको पहिलो साताभित्रै हकप्रद सेयर जारी गर्न लागेका हुन् । स्वरोजगारको हकप्रद असार १ गतेदेखि निष्काशन हुँदैछ भने मिर्मिरे र एनबिको हकप्रद असार ५ गतेदेखि निष्काशन हुँदैछ ।

कसको कति हकप्रद आउँदै ?
स्वरोजगार लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछन् भने एनबि इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । स्वरोजगार लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता सेयर जारी गर्नेछ भने मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । त्यस्तै, एनबिले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

कुन कम्पनीको हकप्रद भर्न कहाँ जाने ?
स्वरोजगारको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्वरोजगार लघुवित्तका कार्यालय, एनएमबि क्यापिट नागपोखरी, एनएमबि बैंकका शाखा कार्यलयहरु तीनकुने, सूर्य्िवनायक, कुमारीपाटी, बनेपा, बुटवल, महेन्द्रनगर, धरान, विराटनगर, सुर्खेतरोड, नेपालगञ्ज, धनगढी, पोखरा, विरगञ्ज, भानुचोक, जनकपुर, चितवन, विर्तामोड, झापाबाट उक्त हकप्रद भर्न पाइनेछ । त्यस्तै, मिर्मिरेको सेयर निष्काशन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु क्यापिटल लिमिटेड कमलादी, मिर्मिरे फाइक्रोफाइन्सको डेभलपमेन्ट बैंकको सबै कार्यालय र प्रभु बैंक लिमिटेडका विराटनगर, विरगन्ज, सुर्खेत, वुटवल, धनगढी र नेपालगञ्जबाट उक्त हकप्रदका लागि दिन सकिने छ । एनबिको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा एनबिका सम्पूर्ण शाखाहरुबाट हकप्रद फारम लिन सक्नेछन् । 

कसले भर्न पाउँछ सेयर ?
स्वरोजगार लघुवित्तले निष्काशन गर्न लागेको सेयर जेठ १६ गतेसम्म कायम सेयरधनीले भर्न पाउँछन् भने मिर्मिरेको हकप्रद भर्न पनि जेठ १६ गतेभित्र सेयर किनिसकेको हुनुपर्नेछ । एनबिको हकप्रद भने जेठ ३ गतेसम्म कायम सेयरधनीले भर्न पाउनेछन् । 

कुनको हकप्रद कहिलेसम्म भर्न पाइन्छ ?
स्वरोजगार लघुवित्तको हकप्रद सेयर निष्काशन साउन ४ गतेसम्म खुला रहनेछ । त्यस्तै, मिर्मिरेले साउन ८ गतेसम्म हकप्रद जारी गर्नेछ भने एनबिले साउन ९ गते हकप्रद निष्काशन बन्द गर्ने जनाएको छ ।

हकप्रदपछि कसको चुक्तापुँजी कति पुग्छ ?
हाल स्वरोजगार लघुवित्तको चुक्तापुँजी छ करोड ९९ लाख ९८ हजार नौ सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि लघुवित्तको चुक्तापुँजी १० करोड ४९ लाख ९८ हजार दुई सय रुपैयाँ पुग्नेछ । मिर्मिरे माइक्रोफाइनान्सको चुक्तापुँजी अहिले तीन करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी चार करोड ५० लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, हाल एनबि इन्स्योरेन्सको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । 

Ad