Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, साताभर चर्चामा रहेका बैंकिङ खबरहरु

२०७४ जेष्ठ १९ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साताको सोमबार संसदमा बजेट प्रस्तुत गरियो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

संसदमा बजेट प्रस्तुत
साताको सोमबार अर्थात जेठ १५ गते अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरे । सरकारले आर्थिक वर्ष २०७४।७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । जसमध्ये, चालु खर्च आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार रुपैयाँ अर्थात् ६२ दशमलव आठ प्रतिशत, पूँजीगततर्फ तीन खर्ब ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार हजार रुपैयाँ अर्थात् २६ दशमलव दुई प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार रुपैयाँ अर्थात् ११ प्रतिशत रहेको छ । नयाँ कार्यक्रमहरु समावेश नगरिएको बजेटमा संघीयता कार्यान्वयन, पुनर्निर्माण, रोजगारी सिर्जना, राष्ट्रिय गौरवका आयोजना, कृषिको आधुनिकीकरण लगायतलाई प्राथमिकता दिइएको छ ।  

गणतन्त्रको अवसरमा व्यवसायी र बैंकर सम्मानित
गणतन्त्र दिवसको अवसरमा आठ जना व्यवसायी एवम् बैंकरले पदवी पाए । केन्द्रीय बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गाना र गभर्नर कार्यालयका निर्देशक एवं सहायक प्रवक्ता राजेन्द्र पण्डितले प्रवल जनसेवाश्री पदवी पाएका हुन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले किर्तिमय राष्ट्रदीप पदवी प्राप्त गरेका छन् । पदक पाउने व्यवसायीहरुमा कैलाशचन्द्र गोयल, नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी मञ्चकी पूर्व अध्यक्ष प्रमिला आचार्य रिजाल र पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठले प्रवल जनसेवाश्री पाएका छन् भने व्यवसायीहरु राजेन्द्र खेतान, सतिष कुमार मोर र विश्वनाथ शाहले जनसेवाश्री पदवी पाएका छन् । त्यस्तै, व्यवसायी आनन्दराज बतास समाजसेवा रत्नबाट विभुषित भएका छन् । 

डेपुटी गभर्नरसमक्ष सपथ
सिद्धार्थ डेभलपमेन्ट बैंकका नवनिर्वाचित अध्यक्ष राम बहादुर भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी समक्ष मंगलबार पद तथा गोपनीयताको सपथ लिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ लागू भए पश्चात उक्त ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले आफु निर्वा्चित भए पश्चात तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष सपथ लिनु पर्ने ब्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार नवनिर्वाचित अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकमा आयोजित विशेष समारोहमा सपथ लिएका हुन् । 

सेञ्चुरीले सेतीलाई किन्ने
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्झौता गर्यो । यसअघि तीन विकास बैंक र एक फाइनान्सलाई खरिद गरेको सेञ्चुरीले पाचौँ पटकमा पुनः फाइनान्स कम्पनीलाई किन्ने भएको हो । सेञ्चुरीले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकिकृत कारोबार सुरु गरिसकेको छ भने सगरमाथा फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकसँग खरिद सम्झौता गरिसकेको छ । सगरमाथा र अल्पाइनलाई खरिद गर्नुअघि सेञ्चुरीले १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । बोनस सेयर, हकप्रद सेयर र चार वटा संस्थाको प्राप्तीपछि सेञ्चुरीको चुक्तापुँजी छ अर्ब ६० करोड रुपैयाँ नाघ्नेछ । बैंकले त्यसपछि ४३ करोड २२ लाख रुपैयाँ चुक्तापुँजी भएको सेतीलाई खरिद गर्नेछ । जसपश्चात्, बैंकको चुक्तापुँजी झन्डै सात करोड रुपैयाँ पुग्नेछ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब चुक्तापुँजी चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर पुर्याउनेछ । 

एनसेलको फोरजी सुरु
निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले विहीबारदेखि चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सुरु गर्यो । नयाँ फ्रिक्वेन्सी नबढाई ०६४ सालमै दिएको फ्रिक्वेन्सी अनुसार फोरजी सेवा सुरु गरेको एनसेलले जनाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ९ सय मेगाहर्ज ब्यान्ड र १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता बमोजिमका सेवा सुरु गर्न अनुमति दिएको थियो । फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले यही बिहीबार (जेठ १८) बाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभ लिन सक्नेछन् । फोरजी सेवाको लाभ लिन ग्राहकले आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन्। नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्नेछन् ।

शाखा विस्तारमा आक्रामक बैंक तथा वित्तीय संस्था
सिद्धार्थ बैंकले यो सता सुर्खेत र पाल्पाको तानसेनमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गर्यो । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहिमा गरी एकै दिन ३ नयाँ शाखाहरु स्थापना गर्यो । त्यस्तै, आशा लघुवित्तले एकैदिन १३ वटा शाखा विस्तार गरी कुल शाखा संख्या २८ पुर्यायो ।

अन्य,

  • फेवा विकास बैंक लिमिटेडले रुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट एटीएम सेवा सुरु गर्यो । 
  • नेपाल बैक लिमिटेडले  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ६ वांडेगाउँमा संचालित श्री सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि ५२ लाख रुपैयाँ नगद सहयोग गर्यो ।
  • रमजान पर्वको अवसरमा आईएमई लिमिटेडले कतारबाट पैसा पठाउँदा घडी उपहारको व्यवस्था गर्यो ।
  • शैक्षिक सत्र– २०७३ को “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” को नतिजा सार्वजनिक भयो ।
  • सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अनलाईन आस्वा सेवा सुरु गर्यो ।
  • कृषि विकास बैंकले विहीबारदेखि आफ्नो १७७ शाखामा आस्वा सेवा निःशूल्क गरायो ।
  • बुम रेमिट्यान्स प्रा. लि.ले गणतन्त्र दिवसको अवसर पारेर नायिका श्वेता खड्कालाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गर्यो । 
  • ग्लोबल आइएमई बैंकले लुम्बिनीमा आफ्नो नयाँ एटिएम सेवा सञ्चालनमा ल्यायो ।
Ad