रुपा कोइराला । नेपाल राष्ट्र बैंकले नौ वटा वित्तीय संस्थामा निक्षेपकर्ताको साढे दुई अर्ब रुपैयाँ जोखिममा रहेको बताएको छ । नेपाल राष्ट्र बैंकको समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाका अनुसार दुई वटा विकास बैंक र सात वटा वित्तीय संस्थामा सर्वसाधरणको दुई अर्ब ५० करोड १८ लाख ३५ हजार रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको छ भने पाँच अर्ब ६७ करोड १६ लाख ५८ हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ । चालु आर्थिक बर्षको चैतमसान्तसम्ममा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स क्रिस्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, कर्पोरेट फाइनान्स र ललितपुर फाइनान्समा उक्त रकम रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, समस्याग्रस्त घोषणा गर्दा यी नौ संस्थाको खराब कर्जा १३ अर्ब ३४ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा सात अर्ब ६७ करोड रुपैयाँ कर्जा असुल भएको छ । समस्याग्रस्त संस्थामध्ये सबैभन्दा बढी नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडले दुई अर्ब ३५ करोड ३६ लाख ८९ हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ भने कुबेर मर्चेन्ट फाइनान्सले सबैभन्दा कम छ करोड ६४ लाख ९० हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ । त्यस्तै, सबैभन्दा बढी क्यापिटल मर्चेन्ट फाइनान्सले ८५ करोड निक्षेप रकम फिर्ता गर्न बाँकी रहेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा कम आठ करोड ३५ लाख रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको छ ।
नौ वित्तीय संस्थामध्ये, कुवेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्समा शतप्रतिशत खराबकर्जा रहेको छ भने नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, क्रिष्टल फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपूर फाइनान्समा क्रमशः ९८.५९, ९८.१५, ९६.६९, ९५.६९ र ८९.१९ प्रतिशत लगानी खराब कर्जामा रूपान्तरण भएको छ ।
केन्द्रीय बैंकले ०७० चैतबाट समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा गठन गरेर यस्ता समस्याग्रस्त संस्थाहरुको निगरानी गर्दै आएको छ ।