बुधबार सिद्धार्थ डेभलपमेन्ट बैंकले निष्काशन गरिरहेको ६० प्रतिशत हकप्रद सेयर भर्ने अन्तिम दिन रहेको छ । यसबाहेक, पाँच वटा विकास बैंकले विभिन्न अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेका छन् । गरिमा, तिनाउ, ज्योति, सहयोगी र हाम्रो विकास बैंकले हकप्रद सेयर निष्काशन गरिरहेका हुन् । हेरौँ, कुनको बैंकको हकप्रद भर्न कहाँ जाने र म्याद कहिलेसम्म छ ?
गरिमा विकास बैंक लिमिटेडले गत वैशाख १४ गतेदेखि १० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ९० करोड ७६ लाख २९ हजार छ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार दुई सय ९६ दशमलव ६६ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको हो । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेण्ट बैंकको प्रधान कार्यालय नक्साल काठमाडौं र शाखा कार्यालयहरु, गरिमा विकास बैंकको शाखा कार्यालयहरु, महालक्ष्मी विकास बैंकको शाखा कार्यलय धनगढी, कैलाली, महेन्द्रनगर, कञ्चनपुरबाट र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य शाखा कार्यलय, बिर्तामोड, झापा, धरान रोड, विराटनगर र मोरङबाट हकप्रद भर्न सकिनेछ । हकप्रद भर्ने म्याद जेठ १७ गतेसम्म रहेको छ ।
तिनाउ विकास बैंक लिमिटेडको वैशाख १९ गतेदेखि ३५ प्रतिशत अर्थात १० बराबर ३.५ का अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । तिनाउले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँको ११ लाख ९४ हजार सात सय ९६ कित्ता सेयर निष्काशन गरिरहेको हो । हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक र तिनाउ विकास बैंकबाट आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशन जेठ २२ गतेसम्म खुला रहनेछ ।
यता, ज्योति विकास बैंक लिमिटेडले वैशाख २८ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । ज्योतिले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ बराबरको एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको हो । हकप्रद निष्कशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल र ज्योति विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुबाट हकप्रद भर्न पाइने बताइएको छ । बैंकको हकप्रद वैशाख १३ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म भर्न पाउनेछन् ।
सहयोगी विकास बैंक लिमिटेडले पनि गत जेठ १ गतेदेखि १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । सहयोगीले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड एक लाख १३ हजार पाँच सय रुपैयाँ बराबरको ११ लाख एक हजार एक सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको हो । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियूक्त गरेको छ । विक्री प्रबन्धकको कार्यालय र सहयोगी विकास बैंकका शाखा कार्यालयहरुबाट उक्त हकप्रद भर्न पाइने बताइएको छ । असार ४ गतेसम्म खुला रहने हकप्रद सेयरमा वैशाख १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
त्यस्तै, हाम्रो विकास बैंक लिमिटेडले जेठ ७ गतेदेखि दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार तीन सय ३८ दशमलव ७५ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको हो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । एनआईबिएल क्यापिटल, हाम्रो विकास बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट सेयर भर्न पाइनेछ । असार ११ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।