बैंकर्स संघका अध्यक्ष समेत रहेका मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह एभरेष्ट बैंक लिमिटेडमा जाने चर्चा चलेको छ । त्यसका लागि दुइचरणको बार्ता भइसकेको बताइएको छ । स्रोतका अनुसार, मेगा बैंकमा दोस्रो कार्यकाल सकिएपछि शाहलाई एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्नेगरी कुरा अघि बढाएको छ । एउटै वित्तीय संस्थामा दुई कार्यकालभन्दा बढी रहन नपाइने नीतिअनुरुप शाहले मेगा बैंक छोड्नु पर्ने अबस्था छ । हालै काठमाडौंमा आयोजित बैंकिङ एक्स्पोमा पनि उनलाई देख्ने वित्तिकै एभरेष्ट बैंकका कर्मचारिले स्टल अबलोकनका क्रममा फोटो खिच्न तानेर लगेका थिए । मेगा बैंकमा उनको कार्यकाल अब केही समय मात्रै बाँकी छ ।
को हुन्, अनिल केशरी शाह ?
भीरकोटे राजा तारकबहादुर शाहका नाती हुन् अनिल केशरी शाह । उनकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत हुन् । उनका पिताको नाम डा. नारायण केशरी शाह हो । हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले दिल्ली युनिभर्सिटीबाट एमबिए गरेका छन् । उनले मार्केटीङ विषयमा पनि स्नातकोत्तर गरेका छन् ।
वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए)का अध्यक्ष अनिल केशरी शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । काठमाडौँस्थित कान्तिपथमा रहेको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बाट शाहको बैंकिङ करिअर सुरु भएको थियो । त्यहाँ उनले वित्तीय विश्लेषक भएर काम गरे । व्यवसायिक रुपमा बैंकिङ भने तत्कालिन नेपाल ग्रिण्लेज अर्थात अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंकबाट सुरु गरेका हुन् । त्यहाँ १३ वर्ष काम गरेका उनी नबिल बैंकमा महाप्रवन्धकका रुपमा छिरे । पछि प्रमुख कार्यकारी अधिकृत भएर काम गर्दै गर्दा उनले नयाँ सोँचमा बैंक स्थापना गर्न पुगे मेगा बैंक । मेगा बैंक उनकै सक्रियतामा खुलेको बैंक हो । जसले एउटा यस्तो नारा दिए ‘हलोदेखि हाइड्रोसम्म’ । नबिल बैंकमा उनले छ वर्ष बिताए । उनकै पहलमा खुलेको मेगा बैंक नेपालमा उनी सूरुवातीदेखि नै प्रमुख कार्यकारी अधिकृत छन् । बिचारमा प्रष्ट, नयाँ सोँच र योजना बनाउन सक्ने बैंकरका रुपमा उनि परिचित छन् ।
अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा एनबिएको वरिष्ठ उपाध्यक्ष भइसकेका थिए । नबिल छाडेपछि उनी एनबिएबाट वाहिरिएका थिए । बैंकिङ क्षेत्रमा नभएको प्रमुख कार्यकारी एनबिएको सदस्य नहुने विधानको व्यवस्था अन्तर्गत उनी वरिष्ठ उपाध्यक्ष हुँदाहुँदै त्यहाँबाट बाहिरिएका थिए । पछि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि सदस्य हुँदै फेरि वरिष्ठ उपाध्यक्ष बनेका उनी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चुनिएका हुन् ।