२०७४ जेष्ठ ६ गते

विकासको ढोका खुल्दै : करिब ३ खर्ब रुपैयाँ स्थानीय तहमा जाने

आउने आर्थिक बर्षमा करिब ३ खर्ब रुपैयाँ सिधै स्थानीय तहमा जाने भएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भइरहँदा अर्थमन्त्रालय र स्थानीय विकास मन्त्रालयबीच यस्तो सहमति भएको हो । यो स्थानीय तहका लागि विनियोजीत कुल रकम हुने छ । उक्त रकमलाई भाग लगाउँदा हरेक स्थानीय तहमा कम्तिमा ४ करोड रुपैयाँ विनियोजीत हुने छ । यो रकम केन्द्रबाट सिधै स्थानीय तहमा जाने छ । कुल बजेटको पुग अपुग २५ प्रतिशत बजेट स्थानीय तहमा पठाउन लागिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् । उनका अनुसार यस बाहेक स्थानीय तहको स्रोत बढाउनेबारे पनि छलफल भएको छ । स्थानीय तहमा पठाउने बजेटबारे मन्त्रालयमा छलफल भइरहेको छ । सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य, शिक्षा, स्वरोजगार लगायतका विषय प्राथमिकतामा रहेका छन् । कुल बजेटको आकार अनुसार बजेट विनियोजीत हुने छ । जस अनुसार आगामी आर्थिक बर्षमा करिब १२ खर्ब बजेटको तयारी भइरहँदा ३ खर्बको रेसियोमा स्थानीय तहले पाउने छ ।