Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी हुन्, साताभर चर्चामा रहेका १० बैंकिङ खबरहरु

२०७४ जेष्ठ ५ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको नौ महिनाको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्यो । त्यस्तै, राष्ट्र बैंकले व्याजदरसम्बन्धी नीतिमा हेरफेर समेत गर्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

व्याजदरबारे नयाँ व्यवस्था
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कर्जा तथा निक्षेपको व्याजदरबारे नयाँ व्यवस्था ल्यायो । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै नयाँ नियम लागु गर्न गराउन भनेको छ । राष्ट्र बैंकले ऋणीको सहमतिविना बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउन नपाउने लगायतका नयाँ व्यवस्था ल्याएको हो । 

बैंक अध्यक्षले सपथ लिनुपर्ने नयाँ व्यवस्था
वाणिज्य बैंकका अध्यक्षले पद तथा गोपनियताको शपथ लिनुपर्ने सम्बन्धमा नयाँ व्यवस्था लागू भयो । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ०७३’ (बाफिया) को व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूले राष्ट्र बैंकका अधिकारीहरूबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने भएको हो ।  नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका अध्यक्षले गभर्नर अथवा डेपुटी गभर्नरसमक्ष, राष्ट्रियस्तरको विकास बैंकका अध्यक्षले डेपुटी गभर्नर वा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकबाट, जिल्लाबाहेकका अन्य संघसंस्थाका अध्यक्षले नियमन विभागको कार्यकारी निर्देशक वा निर्देशकबाट र जिल्लास्तरीय वित्तीय संस्थाका अध्यक्षले राष्ट्र बैंकका क्षेत्रीय कार्यालय प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ । 

व्यापार घाटा बढ्यो
चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा सात खर्ब २६ अर्ब ४१ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो ।  यो अवधिमा निर्यात भने जम्मा ५५ अर्ब २२ करोड रुपैयाँको भएको राष्ट्र बैंकको तथ्यांक छ । निर्यातभन्दा आयात धेरै उच्च हुँदा समग्र ब्यापार घाटा ४२.६ प्रतिशतले बढेर छ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, देशबाट वाहिरिने भन्दा भित्रिने रकम बढेका कारण समग्र शोधनान्तर बचत ५० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बस्तु आयात उच्च दरले बढेका कारण देशको चालु खाता १० अर्ब ३४ करोड रुपैयाँ घाटामा गएको छ ।

१० नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति
१० वटा नयाँ जीवन बीमा कम्पनीले सञ्चालनकोे अनुमति पाए । अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै १० वटा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेका हुन् । अर्थ मन्त्रालयले आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन बीमा समितिलाई अनुमति दिएको हो ।

नेपालमा नयाँ स्टक एक्सचेन्ज
नेपालमा नयाँ स्टक एक्सचेन्ज खोल्नका लागि यसै साता नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दियो । हाल नेपालमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा मात्र सेयर कारोबार हुने गरेकोमा अब निजी स्तरबाट नयाँ स्टक एक्सचेन्ज थप गर्न लागिएको हो । 

धितोपत्र व्यवसायी ऐनमा संशोधन
नेपाल धितोपत्र बोर्डले नेपाल सरकारको स्वीकृतिमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ मा संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता पुँजी २० लाख रुपैयाँबाट १० गुणा बढाएर दुई करोड रुपैयाँ पुर्यायो । यसबाहेक, संशोधित नियमावलीमा बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न सक्ने उल्लेख छ । त्यस्तै बोक्रर कम्पनीको मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ ।

सिभिल बैंकमा नयाँ नेतृत्व
सिभिल बैंक लिमिटेडको अध्यक्ष पदको कार्यभार अम्बीर बोगटीले सम्हालेका छन् । नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरंजीबि नेपालबाट बैंकका नवनियूक्त अध्यक्षले  सपथ ग्रहण गरे । उनी बैंकको स्थापना कालदेखि नै बैंकका संचालक थिए । बोगटी अध्यक्ष भएसँगै रिक्त रहेको सञ्चालकको कार्यभार सृजना शाक्य तामाङ्गले सम्हालेकी छिन् ।

एनएलजी इन्स्योरेन्सबाट विजय शाह हटे
बीमा कम्पनीको सिइओहरुको संस्था नेपाल बीमक संघका अध्यक्ष समेत रहेका एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयबहादुर शाहले पदबाट राजिनामा दिए । पाटन उच्च अदालतका न्यायधीशद्वय श्रीकान्त पौडेल र रमेशकुमार खत्रीको सयुक्त इजलाशले लगातार दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको व्यक्ति पुनः सिइओमा बस्न नपाउने फैसला गरेपछि शाहले पदबाट राजिनामा दिएका हुन् । एनएलजी इन्स्योरेन्सले शाहलाई तेस्रो कार्यकालको लागि पनि नियुक्त गरेकोमा बीमा समितिको सहमति नभएपछि उच्च अदालत पुगेका शाहको विरुद्धमा अदालतले फैसला सुनाएपछि उनले राजिनामा दिनुपरेको हो । 

लगानी बोर्डको उपाध्यक्षमा उद्योगमन्त्री
लगानी बोर्डको उपाध्यक्षमा उद्योगमन्त्री नवीन्द्रराज जोशी नियुक्त भए । प्रधानमन्त्री पुष्पकमल दाहालले जोशीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्।लगानी बोर्ड ऐन अनुसार बोर्डको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने उपाध्यक्षमा प्रधानमन्त्रीले कुनैपनि मन्त्रीलाई नियुक्त गर्न पाउँछन् । 

दुई दिनमा १४ शाखा उद्घाटन
एनआईसी एसिया बैंकले दुई दिनमा विभिन्न स्थानमा १३ शाखाको उद्घाटन गर्यो । बैंकले जेठ ३ गते नौ वटा र ४ गते चार वटा गरी १३ शाखाको उद्घाटन गरी आफ्नो सेवा विस्तार गरेको हो । 

अन्य,

  • सानिमा बैंक लिमिटेडले आस्वा सेवा निःशूल्क दिने घोषणा गर्यो । 
  • भारतको बम्बई स्टक एक्सचेञ्ज (बिएसई) मा बसेको साउथ एसियन फेडेरेशन अफ एक्सचेञ्जेज (सेफ) को तेरौँ साधारणसभाले २०१६–१७ को लागि गठन गरेको नयाँ कार्यकारी बोर्डमा नेपालबाट मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेस सुरेन्द्रन उपाध्यक्षमा नियुक्त भए । 
Ad