रोयल आचार्य । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया विधयेक कार्यान्वयनमा आए पछि राजिनामा र नियुक्तिले तिब्रता पाएको छ । बाफियाले अयोग्य भनेका बैंक तथा वित्तीय संस्थाका संचालकहरुले राजिनामा दिएका छन् । बाफियाले कार्यान्वयनमा आए पछि धेरै बैंक तथा वित्तीय संस्थाका संचालक, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुले राजिनामा दिएका छन् । संसदबाट पारित भएको बाफिया बिधयेक राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि अयोग्य संचालक, अध्यक्ष तथा सिइओहरु राजिनामा दिन बाध्य भएका हुन् । बिभिन्न राजनीतिक दलबाट सांसद बनेका व्यक्तिहरुले राजिनामा दिएका छ भने बैंक तथा इन्स्योरेन्स दुबैमा संचालक भएका व्यक्तिहरुले एकबाट राजिनामा दिएका छन् ।
क–कसले दिए राजिनामा ?
सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले राजिनामा दिएका छन् । तामाङ नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य बनेका थिए । संविधानसभा नै संसदमा परिणत भए पछि तामाङ अहिले सांसद छन् । सांसदले बैंक तथा वित्तीय संस्थाको संचालक बन्न नपाउने भए पछि उनले राजिनामा दिएका हुन् ।
त्यसैगरी माछापुच्छ्रे बैंकका अध्यक्ष वीरेन्द्र प्रसाद महतो र एनसीसी बैंकका संचालक मोहन बहादुर बस्नेतले पनि राजिनामा दिने भएका छन् । उनीहरु दुबै सांसद हुन् । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका प्रभु इन्स्योरेन्सका अध्यक्ष देवीप्रकाश भट्टचनले इन्स्योरेन्सबाट राजिनामा दिएका छन् ।
बीमा कम्पनीमा रहेका संचालक वा कर्मचारी पनि अन्य बैंक तथा वित्तीय संस्थाको संचालक हुन अयोग्य हुने बाफियाले व्यवस्था गरेपछि भट्टचनले इन्स्योरेन्स छाडेका हुन् । दुईतिर मध्ये एकतिरबाट भने अनिवार्य राजिनामा दिनु पर्ने भए पछि उनले इन्स्योरेन्सको अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।
को–को नियुक्त भए ?
नेकपा एमालेका सांसद इच्छाराज तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिए पछि बैंकका संचालक अम्बिर वोगटी बैंकको अध्यक्षमा नियुक्त भएका छन् । अध्यक्ष नियुक्त हुनु अघि वोगटी सिभिल ग्रुपकै संचालक थिए । सिभिल बैंकको रिक्त संचालक पदमा निवर्तमान अध्यक्ष तामाङकी श्रमती रिता श्रेष्ठलाई संचालकमा नियुक्त गरिएको छ । त्यसै गरी सासंद डा. विरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट राजिनामा दिए पछि बैंकको नयाँ अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । प्रभु इन्स्योरेन्सको अध्यक्ष पदबाट प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले राजिनामा दिए पछि इन्स्योरेन्सको अध्यक्ष पदमा कुसुम लामा नियुक्त भएकी छिन् । उनी प्रभु ग्रुपको उपाध्यक्ष समेत थिइन् ।
बाफिया विधयेकका मूख्य बुँदाहरु यस्ता छन् :
क. बैंक तथा वित्तीय संस्थाको संचालक बन्नका लागि कम्तिमा १० बर्ष बैंक वित्त कम्पनिमा काम गरेको अनुभव हुनुपर्ने छ । कुनै पनि विषयमा स्नातक तह अध्ययन गरेको भएमा ५ बर्ष अनुभव भएको हुनुपर्ने छ । अर्थशास्त्र, बाणिज्य तथा लेखा विषयमा स्नातकोत्तर गरेको व्यक्ति भने सोझै बैंकवित्त कम्पनिको संचालक बन्न पाउने छ ।
ख. बीमा कम्पनीका संचालक बैंकको संचालक बन्न नपाउने व्यबस्था छ ।
ग. दश बर्षपछि संस्थापक सेयरलाई राष्ट्र बैंकको अनुमति लिएर साधारण सेयरमा परिवर्तन गर्न सकिने छ ।
घ. बैंक तथा वित्तीय संस्थाको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियूक्ति लगातार २ कार्यकाल मात्र हुन पाउने व्यबस्था छ । संचालक मात्रैको हकमा कार्यअवधि खुलाइएको छैन ।
ङ. अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको एक कार्यकालको समय अवधि ४ बर्षको हुने छ ।
च. संबैधानिक पद धारणा गरेको व्यक्ति बैंकको संचालक, प्रमुख कार्यकारी अधिकृत वा अध्यक्ष हुन पाउने छैन ।
छ. आफू संलग्न रकेको बैंक वित्त कम्पनिबाट ऋण लिन पाइने छैन ।
ज. ‘घ’ बर्गका लघुवित्त कम्पनीहरुले बैंक लेख्न पाउने छैनन् । उनीहरुले लघुवित्त वित्तीय संस्था भनेर लेख्नुपर्ने छ ।