जनता बैंक नेपाल लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने निर्णय रद्द गरेको छ । बैंकले यसअघि त्रिवेणीका विकास बैंकसँगको मर्जरपछि ६० प्रतिशत अर्थात १० बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेर चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुर्याउने घोषणा गरेको थियो । तर, अब सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई खरिद गरेर बैंकले चुक्तापुँजी पुर्याउने भएको हो । सिद्धार्थ गाभेपछि आठ अर्ब चुक्तापुँजी नाघ्ने भएकाले बैंकले हकप्रद निष्काशन गर्ने निर्णयलाई रद्द गरेको हो ।
जनता बैंकको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन सम्बन्धि निर्णय फिर्ता लिने र यसलाई अनुमोदन गर्न विशेष साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैंकको गत फागुन १ गते सम्पन्न सातौँ वार्षिक साधारणसभाले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, प्राप्तिको क्रममा दुई बैंकबीचको स्वाप रेसियो एक बराबर एक कामय गर्ने र हकप्रद सेयर निष्काशन प्रक्रिया रद्द गर्ने विशेष प्रस्ताव पारित गर्नका लागि जनता बैंकले आगामी जेठ १३ गतेको लागि विशेष साधारणसभा डाकेको छ ।