स्टान्डर्ड चार्टर्ड बैंकले हालै जारी गरेको थप नयाँ सेयर (एफपिओ)को बाँडफाँड भएको छ । शुक्रबार आस्वामा देखिएको समस्याका कारण सेयर बाँडफाँड हुन नसकेपछि सोमबार बाँडफाँड गरिएको हो ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार एक लाख ४० हजार एक सय ३२ आवेदकले स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ पाएका छन् । उक्त एफपिओमा कुल दुई लाख २३ हजार तीन सय आठ आवेदकबाट ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार पाँच सय ४० रुपैयाँको आवेदन परेकोमा दुई लाख १७ हजार तीन सय २२ वटा आवेदनलाई मात्र सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । बाँकी चार हजार दुई सय ९१ वटा आवेदन रद्ध भएका थिए ।
बैंकको सेयरमा १४० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । उनीहरुले १० कित्ता सेयर पाएका छन् । १५० भन्दा बढी कित्ताका लागि आवेदन दिनेलाई ६.३८ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको छ । सबैभन्दा बढी २५ हजार पाँच सय ८० कित्ता सेयरका लागि आवेदन दिने लगानीकर्ताले १६ सय ३० कित्ता सेयर प्राप्त गरेका छन् ।
स्टान्डर्ड चार्टर्ड बैंकले एक सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ गत चैत्र ४ गतेसम्म निष्काशन गरेको थियो । एफपिओ विक्री गरेपछि स्टान्डर्ड चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार तीन सय ३३ रुपैयाँ पुगेको छ भने संथापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत कायम भएको छ ।