अजय पंगेनी/बैंकिङ खबर
प्रदेश नंम्बर ४ अन्तर्गतको म्याग्दी जिल्ला हाइड्रोपावरमा शक्तिशाली जिल्ला बन्ने भएको छ । म्याग्दी जिल्लामा मात्रै १० वटा जलविद्युत आयोजना निर्माण हुने भए पछि म्याग्दी हाइड्रोपावरमा शक्तिशाली जिल्ला बन्ने भएको हो । अहिले म्याग्दी जिल्लामा बिभिन्न १० वटा जलविद्युत् आयोजनाहरु निर्माणको काम धमाधम भइरहेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका रुपमा चिनिँदै आएको यो गाउँमा अब जलविद्युत् आयोजना भित्रिएसँगै ‘हाइड्रो भिलेज’का रुपमा चिनिन थालेको छ ।
नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ सालदेखि जिल्लामै पहिलो पटक विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जिल्लामै जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । अन्नपूर्ण दक्षिणबाट बग्ने घलेम्दी, नीलगिरि हिमालबाट बाग्ने नीलगिरि अर्थात् मिस्ती र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै करिब दुई सय ९० मेगावाट क्षमताका १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् ।
‘अहिले गाउँमा भित्रिएका जलविद्युत् आयोजना निर्माण चरणमा प्रवेश गरेका छन्, यसले छिट्टै यस नारच्याङलाई ‘हाइड्रो भिलेज’मा परिणत गराउने सम्भावना बढेको छ,’ जलसरोकार समितिका सदस्य गुरुङले भन्नुभयो । अहिले गाउँमा भित्रिएका जलविद्युत् आयोजनामध्ये पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला आयोजनाले धमाधम पूर्वाधार निर्माण गरिरहेका छन् ।
त्यसैगरी, ३८ मेगावाटको नीलगिरि, ६२ मेगावाटको नीलगिरि क्यास्केट, १० मेगावाटको रेले खोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सकेको नारच्याङ जलसरोकार समितिले जनाएको छ । नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा रहेका छन् ।
अनुमतिपत्र खारेजीमा परेको एक सय ६५ मेगावाट क्षमताको कालीगण्डकी गर्जको विस्तृत सर्भेक्षणको काम सकिएको र करिब तीन सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएकाले उक्त आयोजनासमेत लगानीकर्ताको खोजीमा रहेको बुझिएको छ । जलविद्युत् आयोजनाको आगमनसँगै गाउँको सामाजिक र भौतिक पूर्वाधार विकासले समेत गति लिएको अनुभव गरिँदै छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीका साथै अन्य सहायक खोलानालालाई विद्युत्का लागि उपयोग गर्दै सिङ्गो जिल्लालाई मुलुककै ‘हाइड्रो हब’ बनाउने सङ्कल्प यहाँका स्थानीय निकाय र जनताले गरिसकेका छन् । नारच्याङमा दर्ता भएका जलविद्युत् आयोजनाले अहिले धमाधम काम गर्न थालेपछि जिल्लाभर यसले सकारात्मक सञ्चार गराएको छ ।
जलविद्युत् आयोजनाले स्थानीयवासीलाई रोजगारी र लगानीका अवसर सिर्जना गर्ने तथा दीर्घकालीनरुपमा समेत यसले गाउँको विकासमा सघाउने भएकाले स्थानीयस्तरबाट समेत जलविद्युत्को विकासका लागि आवश्यक वातावरण तयार गर्ने काम भइरहेको स्थानीय युवा अर्जुन मगर बताउनुहुन्छ । नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले रोजगारी र लगानीको अवसर मात्रै नभई स्थानीय विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने, विकास निर्माणका पूर्वाधार निर्माण गर्नेजस्ता सामाजिक काममा गाउँलेलाई प्रत्यक्ष राहत मिलेको छ ।
पछिल्लो समय जलविद्युत् निर्माणले तिब्रता पाएको छ । म्याग्दीमा निर्माण भए जस्तै देशका बिभिन्न स्थानहरुमा जलविद्युत आयोजना निर्माणले तिब्रता पाउने हो भने नेपाललाई लोडसेडिङ मुक्त गराउन सजिलै सफल हुनेमा दुईमत नरहला ।