आगामी जेठ ७ गतेदेखि दुई वटा बैंकले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल एसबिआई बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा र हाम्रो विकास बैंकले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् ।
नेपाल एसबिआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । गतवर्षको मुनाफाबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस वितरण गरेको बैंकले केही समय अगाडि एफपिओ निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । हाल बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड ९८ लाख ५५ हजार रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक सेयर ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर जारी गरेर १५ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको हाम्रो विकास बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार तीन सय ३८ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद जारी गरेपछि हाम्रो विकास बैंकको चुक्तापुँजी ४५ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्काशनका लागि बैंकले गत चैत्र १७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
दुवै बैंकको सेयर निष्काशन असार ११ गतेसम्म खुला रहने बताइएको छ । नेपाल एसबीआई बैंकको हकप्रद सेयरमा वैशाख २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् भने हाम्रो विकास बैंकको हकप्रदमा वैशाख १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।


