Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, साताभर चर्चामा रहेका बैंकिङ खबरहरु

२०७४ बैशाख २२ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

प्राइम बैंकको एकीकृत कारोबार
प्राइम कमर्सियल बैंक लिमिटेडले विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्यो । बैंकको एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक भव्य समारोहका बीच गरे । साथमा कमलपोखरी स्थित नवनिर्मित केन्द्रीय कार्यालयको समुद्घाटन समेत गरिएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले “क” वर्गका बैंकहरुलाई आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन जारी भए अनुसार बैंकले बिभिन्न बित्तीय संस्थाहरुलाई मर्जररप्राप्ति समेत गरी आफ्नो पुँजी बढाउने योजना अन्र्तगत विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड लाई प्राप्ति गरेको हो । यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्तापुँजी छ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । निक्षेप ५९.६९ अर्ब रुपैयाँ तथा कर्जा ५४.९८ अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको कुल शाखा कार्यालयको संख्या ५५ पुगेको छ ।

बैंक र बीमाको नेतृत्वमा वाफियाको प्रभाव
देवीप्रकाश भट्टचनले प्रभु इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षबाट राजिनामा दिए । बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन (वाफिया)को नयाँ प्रावधान अनुसार एउटै व्यक्ति बैंक वा बीमा कम्पनीको सञ्चालक समितिमा रहन नपाउने भएपछि उनले प्रभु इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । शेरचन प्रभु बैंकको अध्यक्ष छन् । 

शेरचनले छोडेपछि रिक्त भएको प्रभु इन्स्योरेन्स संचालक समितिको अध्यक्ष पदमा कुशुम लामा नियुक्त भइन् । इन्स्योरेन्स संचालक समितिको बुधबारको बैठकले लामालाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । लामो समयदेखि बैंकिङ क्षेत्रमा रहँदै आएकी लामा यसअघि प्रभु इन्स्योरेन्सकी संचालक हुन् । प्रभु बैंकमा समेत संचालक रहेकी उनले बाफियाका कारण बैंकको संचालक समितिबाट पनि राजिनामा दिएकी छिन् ।

यता, माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भए । बिहिबार बसेको संचालक समितिको बैठकले रोशन के.सी.लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको हो । बाफियाको प्रावधान अनुसार संचालक समितिका बहालवाला अध्यक्ष तथा सभासद डा. बिरेन्द्र महतोले पदबाट राजिनामा दिएपश्चात केसीलाई अध्यक्षमा नियुक्त गरिएको हो । त्यस्तै, बैंकका निर्देशक प्रकाश केसीले पनि पदबाट राजिनामा दिएको बैंकले जनाएको छ । 

बैंकिङ एक्स्पो सम्पन्न
काठमाडौंको भृकुटीमण्डपमा तीनदिनसम्म संचालन भएको बैंकिङ एक्स्पो यसै साताको आइतबार सम्पन्न भयो । बैंकिङ एक्स्पोमा खाता खोल्नेदेखि योजना पेशगर्नेसम्मका मानिसहरु आएको स्टलमा सहभागि बैंकहरुले बताएका छन् । आयोजक संस्थाका अनुसार तीनदिनमा करिव ६५ हजारले बैंकिङ एक्स्पो अबलोकन गरेका छन् । मेलामा बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, माइक्रो फाइनान्स, बीमा कम्पनी रेमिट्यान्स कम्पनी र मर्चेन्ट बैंकहरुको स्टल रहेको थियो । त्यसबाहेक नेपाल राष्ट्र बैंक, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, धितोपत्र बोर्ड, माइक्रो फाइनान्स एशोसियसन समेतको स्टल राखिएको थियो । नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा संचालन भएको एक्सपोलाई नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन, बीमा समिति, धितोपत्र बोर्ड र नेपाल क्लियरीङ हाउसले पनि सहकार्य गरेका थिए । 

सानिमा बैंकको हकप्रद सेयर खुला
सानिमा बैंक लिमिटेडको ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर हकप्रद सेयर निष्काशन वैशाख १७ गतेदेखि सुरु भयो । जेठ २१ गतेसम्म खुला रहने हकप्रद सेयर चैत्र १६ गतेसम्म कायम सेयरधनीले भर्न पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय, सानिमा बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाको भित्री शाखा कार्यालयहरू र सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हकप्रद सेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ । सानिमाले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ८९ करोड १७ लाख ६१ हजार सात सय रुपैयाँ बराबरको एक करोड ८९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हालको चुक्ता पुँजी पाँच अर्ब ३० करोड ५८ लाख ७२ हजार तीन सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८९ करोड ७६ लाख ३४ हजार पुग्नेछ ।

तिनाउ विकास बैंकको हकप्रद सेयर खुला
तिनाउ विकास बैंक लिमिटेडको ३५ प्रतिशत अर्थात १० बराबर ३.५ का अनुपातमा हकप्रद सेयर निष्काशन वैशाख १९ गतेदेखि सुरु भयो । जेठ २२ गतेसम्म निष्काशन खुला रहने सेयरमा वैशाख ५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । तिनाउले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँको ११ लाख ९४ हजार सात सय ९६ कित्ता सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक र तिनाउ विकास बैंकबाट आवेदन दिन सक्नेछन् । हाल तिनाउ डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३४ करोड १३ लाख ७० हजार पाँच सय रुपैयाँ रहेको छ । ३५ प्रतिशत हकप्रद सेयर जारी गरेपश्चात् बैंकको चुक्तापुँजी ४६ करोड आठ लाख ५० हजार एक सय रुपैयाँ पुग्नेछ ।

अन्य, 

  • फेवा विकास बैंक लिमिटेडले आस्वा सेवा प्रदान गरेवापत आवेदकहरुबाट प्रति आवेदन २० रुपैयाँ मात्र शुल्क लिने निर्णय गर्यो ।
  • कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले घोडाघोडी नगरपालिका वडा. नं. ६ सूख्खड बजारमा १०औं र दोदोधरा गाविस वडा नं. ७, बौनियाँ बजारमा ११औं शाखा आइतबारदेखि संचालनमा ल्यायो । 
  • बुम रेमिट्यान्स प्रालि र सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको सिन्धु विकास बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता भयो ।
  • सिद्धार्थ बैंकले सिद्धार्थ युनो भेन्टुर्ससँगको सहकार्यमा सिद्धार्थ युनो क्रेडिट कार्ड सञ्चालनमा ल्यायो ।
  • राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंक लिमिटेडले एक समारोहका बिच आफ्नो बुटवल शाखाको औपचारिक समुद्घाटन गर्यो ।
  • गरिमा विकास बैंकले बैशाख १५ गतेबाट आठ प्रतिशत व्याजदरको ‘गरिमा शुभलाभ विशेष योजना’ नामक नयाँ बचत योजना शुरु गर्यो ।
  • पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गर्यो ।