प्राइम कमर्सियल बैंक लिमिटेडले विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । बैंकको एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक भव्य समारोहका बीच गरे । साथमा कमलपोखरी स्थित नवनिर्मित केन्द्रीय कार्यालयको समुद्घाटन समेत गरिएको बैंकले जनाएको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडका अध्यक्ष उदय मोहन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठ, प्राइम कमर्सियल बैंक प्रमुख कार्यकारी अधिकृत श्रीनारायण दास मानन्धर, तीनै बित्तिय संस्थाका संचालकहरु र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंकले “क” वर्गका बैंकहरुलाई आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन जारी भए अनुसार बैंकले बिभिन्न बित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ति समेत गरी आफ्नो पुँजी बढाउने योजना अन्र्तगत विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड लाई प्राप्ति गरेको हो । यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्तापुँजी छ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । निक्षेप ५९.६९ अर्ब रुपैयाँ तथा कर्जा ५४.९८ अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको कुल शाखा कार्यालयको संख्या ५५ पुगेको छ ।


